नेपालमा पनि आउँदैछ ‘केयूभी १००’
केही दिन अघि मात्र भारतीय बजारमा उपलब्ध भएको महिन्द्राको ह्याचब्याक सेगमेन्टको एसयूभी केयूभी १०० नेपालमा पनि केही दिनमै आइपुग्ने भएको छ । नेपालमा महिन्द्रा गाडीको आधिकारिक बितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो गाडी नेपालमा भित्र्याउन थालेको हो ।
आगामी मार्च वा अप्रिल महिनातिर केयूभी १०० लाई नेपालमा भित्र्याउने योजना रहेको अग्नि इन्कर्पोरेटेड प्रालिका मार्केटिङ म्यानेजर सिर्जन न्यौपानेले जानकारी दिए । महंगो मूल्यका ठूला गाडीमा जस्तै विशेषता भएको यो गाडीको मूल्य नेपालमा २३ लाख रुपैयाँबाट प्रारम्भ हुने अनुमान गरिएको छ । डिजेल र पेट्रोल दुवै सेगमेन्टमा सो गाडी उपलब्ध छ ।
विभिन्न ७ भेरिएन्टमा उपलब्ध केयुभी १०० कम्पनीको सबैभन्दा सानो एसयुभी हो । यो क्रसओभर ह्याचब्याक जस्तो लाग्छ । यसमा एलइडी डिआरएल र र्यापअराउन्ड हेडल्याम्प सहितका बोल्ड ग्रिल छन् । हेडल्याम्पमै टर्न इन्डिकेटर समेत जोडिएको छ ।
५ जना बस्न मिल्ने यो गाडीलाई फरक तरिकाले मिलाएर ६ जना पनि बस्न मिल्छ । यो १.२ लिटरको पेट्रोल र डिजेल गरी २ प्रकारका इन्जिन अप्सनमा उपलब्ध छ ।



