डोटीमा जिप दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु, १६ घाइते
अपडेट: कैलाली, वैशाख ८ । डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग१ज ५२७५ नम्बरको जिप डोटीकै शिखर नगरपालिका–३, छाइपानीमा शनिबार दिउँसो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल, सोही ठाउँकी ४० वर्षीया खिन्तुरी भुल र सोही ठाउँकी ३२ वर्षीया कटी सार्की रहेका छन् ।
दुर्घटनामा परेर अरु १६ जना घाइते भएका छन् ।
घाइतेहरुको सुजुङ सामुदायिक अस्पताल राजपुर र शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।



