[ ]
Latest News Updates

ADVERTISE WITH US

प्रवासी नेपालीको सवा कराेडले गाउँमा मोटरबाटो निर्माण
Saturday, April 21, 2018 Posted by Chitra Khabar

बेनी । म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।


रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी सडक निर्माण गरेका हुन् । बेगखोला–देउराली–बेग—बादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भने छैन । हिउँद–बर्खा नियमित सवारी चल्ने यस सडकबाट गाउँलेले उत्पादन गरेको कृषि उपजको बजारीकरण, आवतजावतमा सुविधा र पर्यटकलाई समेत फाइदा पुगेको छ ।

मगर समुदायको बसोबास रहेको साविक बेगखोला गाविसमा सडक मात्र होइन् शिक्षामा पनि प्रवासीको लगानी छ । स्थानीय महादेव माविको शैक्षिक गुणस्तरका लागि बेगखोले प्रवासीले अत्याधुनिक कम्प्युटर कक्ष स्थापना र त्यसको निरन्तरताका लागि रु २३ लाखको अक्षयकोष सञ्चालन गरेका छन् । “दुई वर्षअघि पदमबहादुर पुर्जाको नेतृत्वमा स्थापना भएको कम्प्युटर कक्षमा १४ वटा ल्यापटप, प्रिन्टर र इन्टरनेटको व्यवस्था छ,” विद्यालयका प्रधानाध्यापक घनबहादुर फगामीले भने, “वार्षिक रूपमा आउने ब्याजले कम्प्युटर शिक्षक, मर्मतसम्भार र इन्टरनेटको खर्च व्यवस्थापन हुन्छ ।”

विद्यालयमा योगकुमार फगामीले व्यक्तिगत रु पाँच लाखको पुरस्कार कोष, रु ६० हजारकोे गरीब तथा जेहेन्दार कोष र युबहादुर गर्बुजाले रु एक लाखको शिक्षक–अभिभावक कोष स्थापना गरेका छन् ।

विसं २०२५ मा स्थापना भएको विद्यालयको स्वर्ण जयन्तीका अवसरमा प्रवासीकै अगुवाइमा विद्यालय भवन पुनर्निर्माण अभियान शुरु गरिएको छ । रु दुई करोड लगानीमा १५ कोठे अत्याधुनिक भवन निर्माण गर्न अभियान शुरु गरिएको एनआरएनए युकेका अध्यक्ष एवं बेगखोले कल्याणकारी समाज युके उपशाखाका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

शिक्षा, सडक र पदमार्ग निर्माणका लागि प्रवासी बेगखोलेवासीले रु चार करोडभन्दा बढी लगानी गरेको फगामीले जानकारी दिए । बेगखोलाबाट विश्वका विभिन्न मुलुक पुगेका बेगखोले कल्याणकारी समाजमार्फत संगठित हुँदै आएका छन् । बेलायत, अमेरिका, हङकङ, दक्षिणकोरियामा यसको उपशाखा छ । “विदेश पुगे पनि गाउँका लागि केही गरौँ भन्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत एकजुट भएका छाैं,” बेगखोले समाज युकेका अध्यक्षसमेत रहेका फगामीले भने, “आफ्नो कमाईको केही हिस्सा गाउँको विकासमा लगानी गर्न जुटेका हौँ ।” (रासस)

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi