[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडौंका लागि हिँड्यो चिनियाँ रेल
Thursday, May 12, 2016 Posted by Chitra Khabar

नेपाललाई लक्षित गरेर चीनले बुधबारबाट रेल सेवा सुरु गरेको छ । नेपालका लागि उपभोग्य सामान बोकेको रेल चीनको उत्तरपश्चिमी प्रान्त कान्सु राजधानी लान्चाउबाट तिब्बतको सिगात्सेकालागि हिँडेको छ । उक्त रेलको अन्तिम गन्तव्य राजधानी काठमाडौं भए पनि हाललाई सिगात्सेसम्म र त्यहाँबाट सडकमार्ग हुँदै चीनको केरुङ नाकासम्म सामान आइपुग्ने छ ।
चिनियाँ सञ्चार माध्ययमका अनुसार लान्चाउबाट २ हजार ४ सय ३१ किलोमिटरको दुरी तय गर्दै मालवाहक रेल सिगात्से पुग्ने छ । तिब्बतको सिगात्सेबाट ५ सय ६४ किलोमिटर सडकमार्गको यात्रापछि उक्त कार्गो केरुङसम्म पुग्छ । त्यहाँबाट थप १६० किलोमिटरको थप यात्रा पश्चात सामानहरू काठमाडौं आइपुग्ने छन् ।
रेलमार्गको उल्लेखित रुट तय गर्दै कार्गो सामान काठमाडौं आइपुग्न १० दिनको समय लाग्ने छ । चिनियाँ सञ्चार माध्यमका अनुसार उक्त रुटबाट सामान काठमाडौं पुग्न समुद्री रुटभन्दा ३५ दिन कम लाग्छ ।
लान्चाउबाट छुटेको उक्त मालवाहक रेलमा ४३ वटा गाडी र दैनिक उपभोग्य सामान बोकेका ८६ वटा कार्गो कन्टेनर छन् ।
गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएको पारवाहन सम्झौता अनुरुप रेल सेवा सुरु भएको हो । रेलसेवाले चीनका विभिन्न प्रान्तको दक्षिण एशियाका मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास चीनले लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi