बढाएको ट्राफिक जरिवाना तत्काल फिर्ता लिन यातायात व्यवसायीको अल्टिमेटम / जेठ १३ गते यातायात बन्दको आह्वान
काठमाडौं, जेठ १० । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी बृद्धि गरेको ट्राफिक जरिवाना शुल्क तत्काल फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ ।
महासंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो । सरोकारवालाहरुसँग छलफल नै नगरी सम्पूर्ण व्यवसायलाई नै धारासायी बनाउने गरी ल्याइएको नियम तत्काल संशोधन गरेर पुरानै व्यवस्थामा ल्याउन माग गरेको हो ।
महासंघका अध्यक्ष विष्णु शिवाकोटीले सडक व्यवस्थापन अव्यवस्थित रहेको र कुनै सुविधान नभएको अवस्थामा सरोकारवालाहरुसँग छलफल नै नगरी मुलुक नैै यातायात क्षेत्रबाट चलाउनुपर्ने जसरी जरिवाना बृद्धि गर्दा यो क्षेत्र धरासायी बन्ने भन्दै यसलाई तत्काल रोक्न माग गरे ।
यो व्यवस्थाकाविरुद्धमा व्यवसायीहरुले आगामी जेठ १३ गते सरकारलाई चेतावनीस्वरुप यातायात बन्दको आह्वानसमेत गरेको छ ।
आफूहरुको मागमा तत्काल सुनवाइ नगरे आगामी दिनमा अझै कडा आन्दोलन थाल्ने चेतावनी व्यवसायीहरुले दिएका छन् ।
यसअघि, २५ देखि २०० रुपैयाँसम्म जरिवाना रहेकोमा ट्राफिक ऐन संशोधन गरी ५ सय देखि १५ सय रुपैयाँसम्म बनाइएको छ ।
ट्राफिकले जरिवाना रकमबाट पाउने १५ प्रतिशत कमिसन खारेज गरेर सम्पूर्ण रकम राजश्वमा जाने व्यवस्था मिलाउन पनि व्यवसायीहरुले माग गरेका छन् ।




