"चालकको लापरबाहीले बस दुर्घटना भएको हो " - एसपी कुँवर
२०७३- शुक्रबार बिहान नारायणगण-मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ-६ मा चालकको लापरबाहीले बस दुर्घटना भएको प्रहरीले बताएको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले चालक निदाउँदा वा अर्को सवारी साधनलाई ओभर टेक गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने बताए । उनले प्रहरीको प्रारम्भिक अध्ययनले चालकको लापरबाहीले दुर्घटना भएको देखाएको बताए ।
उनले भने, ‘बिहानको समयमा गाडीको चाप पनि त्यति नभएको अवस्थामा बस खसेको छ,’ एसपी कुँवरले भने, ' कि चालकले ओभर टेक गरको हुनसक्छ कि त उ निदाएको हुन सक्छ ।'
रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण-मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ-६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो । एक जनाको उपचारको क्रममा र २१ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा १६ यात्रु घाइते भएका छन् ।
गौरबाट ३० र चन्द्रनिगाहपुर काउण्टरबाट ८ जना यात्रु लिएर साँझ ७ बजे गुडेको बस शुक्रबार बिहान साढे ३ बजे चण्डीभन्ज्याङ स्थित कालीखोलाभन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । बसका चालक लोकराज पौडेलको अवस्था अज्ञात छ । सह-चालक श्याम न्यौपाने घाइते छन् । अधिकांश यात्रु सुतेको अवस्थामा घटना भएको हो ।
घटनास्थलमा २० र मेडिकल कलेजमा उपचारका क्रममा एकको मृत्यु भएको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए । प्रहरीले घटनास्थलबाट शव पहिचानको लागि भरतपुर अस्पताल ल्याएको छ । मृत्यु हुनेमा २ जना महिला छन् । दुर्घटनामा परी १६ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र खुट्टामा चोट लागेको छ । घाइते एक बालक सहित ३ जना दुर्घटनास्थल माथि डाँडामै अडिकएका थिए । उनीहरुलाई घाइते अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।
घटनामा केही हराइरहेको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ । त्रिशुलीमा खसेको बस टुक्राटुक्रा भई नदीमा डुबेको छ । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरीको विपद व्यवस्थापन कुरिनटारबाट वरिष्ठ प्रहरी उपरीक्षक राजुराम स्वार, सीमा सुरक्षा कार्यालय एसपी बिदुर खड्का र नेपाल प्रहरीका एसपी कुँवर सहित घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरीले डुंगा प्रयोग गरी घाइतेको उद्धार गरेको थियो ।




