यस्तो बन्दैछ कलंकीको सडक (नक्सा सहित)
काठमाडौं, कात्तिक ५ – चक्रपथको सबैभन्दा व्यस्त सडक कलंकीले रुप फेर्दैछ । नेपालमै पहिलो पटक जमिनमुनीबाट समेत गाडी गुड्न मिल्ने सव वे बन्ने भएपछि कलंकी चोकको रुप फेरिन लागेको हो । बिहानदेखि साँझसम्मै जाम हुने यो सडकमा सव वे बनाउने काम भैरहेको छ ।
केही दिनअघि कलंकी चोकको झण्डै दुईसय मिटर सडकमा वरपर जस्ताले बारेर सव वे निर्माणको काम सुरु भएको छ । बिचमा अवरोध नभएमा अबको दुई वर्षमा काम सकिने चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
१६ मिटर ‘अन्डरग्राउण्ड’, ८४० मिटर ‘अन्डरपास’
चक्रपथ सुधार योजनाअन्तर्गत कलंकीचोकमा बनिरहेको सव वे काम सकिएपछि चक्रपथ ओहोरदोहोर गर्ने गाडीले पालो पर्खनुपर्दैन । चक्रपथमा गुड्ने गाडी बिचको चार लेनको अन्डरपासबाट गुड्नेछन् । खसीबजार पुलदेखि बाफल पुलसम्म ८४० मिटर सडक अन्डरपास हुने आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले उज्यालोलाई जानकारी दिनुभयो । थानकोट–कालिमाटी र सितापाइला–बल्खु जोड्ने बिच सडकको १६ मिटर भागमा भने अन्डर ग्राउण्ड हुनेछ ।
बल्खुबाट सितापाइला अथवा सितापाइलाबाट बल्खु गुड्ने गाडी बाफल या खसीबजारबाटै बिचको चार लेनबाट गुड्नुपर्ने हुन्छ । बिचको चार लेन सडकखण्ड जमिनको सतहभन्दा अलि तल र छेउछेउको सडकखण्ड चाहिँ माथि हुन्छ । बालाजु बसपार्कबाट उपत्यका बाहिर चल्ने गाडी बाफल पुगेपछि छेउको सडकबाट गुड्दै कलंकी चोक पार गर्नुपर्ने हुन्छ ।
बाफलबाट नागढुंगा, कालिमाटीबाट नागढुंगा तथा नागढुंगाबाट बल्खु र कालिमाटीतिर गुड्ने गाडी कलंकी चोकको माथिबाट र चक्रपथ ओहोरदोहोर गर्ने गाडी तल अर्थात अण्डर ग्राउन्ड र अन्डरपासबाट गुड्नेछन् । चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सव वे बनाउने काम भैरहेको हो । उज्यालो बाट



