[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडाैंका सडकमा यतिसम्म ज्यादती हुन्छ ट्याक्सी चालकमाथि
Sunday, October 2, 2016 Posted by Chitra Khabar

एक ट्याक्सी चालकको हृदय छुने मार्मिक अनुभूती 

 घटना नम्बर १ 
पुरानो बानेश्वरमा अल्कोहलले लट्ठिएका एक व्यक्ति धुन्मुनिंदै मेरो ट्याक्सीमा बस्न आइपुगे । उनको गन्तब्य अनामनगर थियो । पुरानो बानेश्वरको बाटो हुँदै जाँदा नयाँ बानेश्वर चौक नपुग्दै अनामनगर जान दायाँपट्टी लाग्नुपर्ने हो । तर, अल्कोहलले फिट्टो प्यासेन्जरले अनामनगर जान तिनकुनेतर्फको बाटो देखाए । अलपत्र पार्लान भन्ने लागेर सम्झाउन खातिर रोकिरहेको सवारी चालकलाई औंल्याएर ‘’उहाँलाई सोध्नुस, अनामनगर जता पर्छ, उतै जाउँला’’ भनें । तर, महाशयको अनामनगर तिनकुनेतर्फ नै निर्दिष्ट भयो । ती सवारी चालक नयाँ अनामनगर तर्फ हेर्दै ट्वाँ परे । 


  ‘’रोक् ǃ रोक् ǃǃ रोक् ǃǃǃ’’ चौकबाट १००-२०० मिटर अगाडि बढ्दा-नबढ्दै उनि चिच्याए । सरको अनामनगर यतै रहेछ भन्ने लाग्यो । नजिक जेब्रा क्रसिंङ् थियो, पार गरेर गाडी रोकें । मिटरमा लगभग ९३ रुपैयाँ देखायो । भाडा देलान् जस्तो लागेको थिएन, जे होस् निराश चैं पारेनन । १०० को नोटमा ५ रुपैयाँ फिर्ता गर्न खोज्दा ‘भैगो, चिया खाऊ ǃ’ भन्न पनि भ्याए ।    उनलाई बिदावारीको हात हल्लाउँदा नहल्लाउँदै एक जना ‘अंकल’ उमेरका प्यासेन्जर भक्तपुर सल्लाघारी जाने-आउने भन्दै बस्नु भयो । उहाँले कतिमा जाने भने पछि मैले मिटरको कुरा गरेंता पनि उहाँले ‘फिक्स’ गरेरै जाऔं भने पछि, मैले ६०० रुपैयाँ भन्दिएँ । उहाँले ५०० रुपैयाँ दिने हुनु भयो । हामी अगाडि बढ्यौं । यति कुरा लगभग मिनेटभरमा भयो । ट्रलीको अफिस पुग-नपुगमा एउटा जेब्रा क्रसिंङ् भेटिन्छ, त्यही स्थलको सेरोफेरोमा भएको कुरा यहाँ निबेदन गर्दैछु ।  
अगाडि बढ्दा-नबढ्दै ट्राफिक प्रहरीको सईले गाडी साइड लगाउन इशारा गरे । गाडी साइड लगाउँदा-नलगाउँदै पेटीमा उभिएका २-३ जना मानिसले ‘मिटरमा किन नहिंडेको ?’ भन्दै र्याख-र्याख पारे । यता सई साप ‘लाइसेन्स निकाल कि लाइसेन्स निकाल’ भन्दै थिए । प्यासेन्जर अंकलले ‘म आफै मिटरमा जान चाहन्न भनेको हो’ भनेपछि ‘मिटरमा जानूस्ǃ’ भन्ने आदेश जारी गरेर सरकारी कर्मचारी जस्ता देखिने मानिसहरु त्यतै कतै ओझेल परे । यता सई सापले भने मेरो सवारी चालक लाइसेन्स लिएर जेब्रा क्रसिंङ्मा रोकेको कसुरमा पर्ची थमाउनुभयो । म किङ्कर्तब्यबिमुढ़ भएँ ।    सल्लाघारी पुगेर आउँदा लगभग ८०० रुपैयाँ उठ्यो । उहाँले ६०० रुपैयाँ दिनुभयो । यद्यपी ५०० रुपैयाँ मै जान तैयार मान्छे म, चित्त दुखाइन । आफ्नो लागि सबैले भलो नै चिताउँछन् । प्रतिस्पर्धात्मक बजारमा आजभोलिका हर कोही प्यासेन्जर सचेत छन् । मिटर भन्दा कम दाममा सेवा प्रदान गर्दा तेश्रो पक्षलाई किन आपत्ति भन्ने प्रश्न राख्ने धोको छ । गाडी साइड लगाएर एक पटक उनै सई साप’काँ गएँ । जेब्रामा रोकेको आरोप सैह्य थिएन मलाई । जाममा परेको बखतमा त सकेसम्म जेब्रा अतिक्रमण नगर्ने मान्छे म । गुनासो गर्दा भन्नु भो, ‘जेब्रा भन्दा डेढ सय मिटर अगाडि या पछाडि मात्रै रोक्न पाइन्छ’ पानी पर्दा भैसी नुहाउने आहाल, घाम लाग्दा धुवाँधुलोको महाजाल मात्रै हैन, पिच गरेको १-डेढ महिना मै जताततै खाल्डो पर्ने सडकमा ‘रेखा’ खोज्न माइक्रोस्कोप नै लिएर हिंड्नुपर्ने अवस्था छ । भौतिक दृष्टिमा अत्यन्तै दरिद्र संरचना भएको सडकमा चालकलाई युरोप-अमेरिकामा जस्तै जरिवाना तिराउँछु, सबक सिकाउँछु भन्ने कुरा कति ब्यबहारिक हुन्छ, समीक्षा गर्ने जिम्मा सरोकारवाला मैं छोडौं ।   त्यसपछि २ दिन लगातार सरकारी बिदा परेकाले आइतबार एकान्तकुना गएँ । जरिवाना बापत २००० को बैंक भौचर भरे । कर्मचारीले रसिदका लागि ‘भोलि आउनुस’ भनेपछि भोलिपल्ट फेरि एकान्तकुना गएँ । रसिद लिएँ र लाइसेन्स लिन बग्गीखानामा आउनु भनेकाले त्यसतर्फ लागें । ६ नम्बर झ्यालमा घन्टौं लाईनमा बसेर आएको पालोमा जब जरिवाना बुझाएको रसिद देखाएँ, ‘यो त यहाँ हैन, यातायात बिभाग मिनभवन जानू’ भन्ने सल्लाह प्राप्त भयो । म त्यत्ता तिरै हान्निएँ । यसरी लाइसेन्स लिन ३ दिन धाउनु मेरो विवशता बन्न पुग्यो । मेरो काम गरी खाने समय यसरी बर्बाद भयो । त्यसमाथि आफुले गर्दै नगरेको कसुरको जरिवाना तिर्नुको पीडा त छँदै छ ।  


घटना नम्बर २ 
मिर्मिरे साँझको बखत, बसुन्धराबाट चावहिल जाने क्रममा महाराजगंज चक्रपथको जाममा फसियो । जाम खुल्यो, अगाडि बढियो । यत्तिकैमा जेब्रा क्रसिंङ्मा बटुवाले बाटो काटेपछि मैले सवारी रोक्नु नैं पर्यो । गाडी बीचमा अड्कियो । अरु तर्फको सवारी आवागमन खुल्यो । गाडी किन बिचमा रोकेको भनेर ट्राफिकले चिट थमाए । मैले जति सम्झाउँदा पनि सुनेनन् । यो अवस्थामा मैले बटुवालाई मिचेर अगाडि बढ्नु पर्थ्यो या ‘लेन’ जम्प गरेर अगाडि बढ्नु पर्थ्यो ? समीक्षा गर्ने जिम्मा सरोकारवालाहरु मैं छोड्न चाहन्छु ।


घटना नम्बर ३ 
लाजिम्पाटबाट जमल आउने क्रममा ‘लेन’ अनुशासन कसरी उल्लङ्घन भयो भने, सोह्रखुट्टेपट्टिबाट आउने सवारीको लाइन केशरमहलदेखि लैनचौरको चौकसम्मै थियो । अब यो अवस्थामा मैले जमल जानलाई सुरक्षालाई ध्येयमा राख्दै तुलनात्मक रुपमा उपयुक्त स्थानमा सवारीलाई अड्याउनुको बिकल्प पनि थिएन । भनेको मतलव, दरवारमार्गतर्फ जाने सवारीलाई अवरोध नगरिकन चौकभन्दा डेढ सय मीटर ओरै ‘हाप लेन’ कभर गरेर जाम खुल्ने प्रतिक्षामा सवारी रोकें । संयोगले त्यो दिन दरवारमार्गतर्फ जाने लेन खाली नैं थियो । जाम हुने अवस्था आएको थियो भने आवागमन रोकेर बस्ने विचार मेरो पनि थिएन ।    तर, यत्तिकैमा चौकतिरबाट उसेन बोल्टको गतिमा एकजना ट्राफिक प्रहरी मतर्फ आउनु भो, गाली गर्दै चिट थमाउनु भो । मलाई यसमा पनि ट्राफिक प्रहरीको कदम ब्यबहारिक भएन भन्ने गुनासो छ । ओल्लो चौकदेखी पल्लो चौकसम्म जाम हुने अवस्थामा अर्को सडकबाट मिसिन आइ पुगेका सवारीलाई ‘लेन जम्प’ गर्ने बिधि बताउने मात्रै हैन, ब्यबहारिक पनि हुन जरुरी छ ।   

घटना नम्बर ४ 
जावलाखेलबाट आउने क्रममा यात्रु ओराल्न भोटाहिटी चौकमा गाडी रोक्दा नजिक उभिएका ट्राफिक प्रहरी चोर औंला उज्ज्याउँदै मतिर हान्निएर आए । जबकि चौक पूरै खाली नै थियो । खाली चौकमा प्यासेन्जर ओराल्दा पनि फरार अपराधीलाई जस्तो यो दुर्ब्यबहार किन ? प्यासेन्जरलाई चाहेको ठाउँमा ओर्लन नदिएर घुमाएको घुमाई गर्नु भन्ने ट्राफिक आदेश हो ? ‍=== अनि लगत्तै त्यही घटनासँग जोडिएको किस्सा,,,,,, त्यहिनिरबाट सोह्रखुट्टे जाने भन्दै २-३ जना महिला चढ्नु भयो । तिनै प्रहरीले निहुँ खोज्न थाले । यिनीहरु मिटरमा हिंड्दैनन खै मिटर भन्दै ट्याक्सी वरिपरि फन्को मार्न थाले । जबकि, जावलाखेलबाट आउँदा मिटरमा उठेको लगभग १८६ रुपैयाँ उनकै अगाडि प्रत्यक्ष थियो । ‘यिनीहरुले लामो-लामो बाटो घुमाएर पैसा धेरै असुल्छन्’ भन्दै मलाई अपमान गरियो । ट्राफिक प्रहरी कुन जमानामा छ ? गुगल म्यापमा गुड्ने आजको प्यासेन्जरलाई हजुरबुबाको पालाको कथा सुनाउन आवश्यक छैन, हरेक गल्ली-गल्ली बारे यात्रु जानकार छन् भन्ने स्कुलिंङ ट्राफिक प्रहरीलाई कसैले प्रशिक्षित गराओस । समाज असल र खराबको समिश्रण हो । ड्राइभर सबै असल अनि खराब हुन्छन् भन्ने हुँदैन । जो जस्तो हुन्छ, त्यै अनुसारको ब्यबहार पाउनुपर्छ । ट्याक्सीमा छुटेको लाखौ रुपैयाँ फिर्ता गर्ने ट्याक्सी ड्राइभर पनि यही सडकमा गुडेका हुन्छन् भन्ने हेक्का कहिले रहने हो ?    यसका अलवा ट्राफिक प्रहरीबाट भएका दुर्ब्यबहारका अनगिन्ती घटनाहरु मानसपटलमा घुमिरहेका छन् । लम्की र झम्की, तँ-तँ र म-मदेखि लिएर गाडीमा महिला यात्री देख्दा देख्दै अश्लिल शब्द, जुन समाजमा बोल्न बर्जित छन्, आक्रोशको क्रममा ट्राफिक प्रहरीबाट ओकल्ने गरेका छन् । कतिपय चिनारु यात्रु हुन्छन्, ट्राफिकको ब्यबहारले आत्मसम्मानमा चोट पुगेको महशुस हुन्छ र आफ्नै पेशाप्रति बितृष्णा जागृत हुने गरेको छ । कालिमाटीबाट डल्लु आउने क्रममा परोपकार र ताहचल जोड्ने पुलमा ड्युटी गर्ने ट्राफिक प्रहरीबाट यस्ता अपशब्द निक्लिएको मेरो अनुभवमा छ ।   

ट्राफिक प्रहरी किन यसरी आक्रामक बनेका होलान त ? 
एकातिर ‘मुस्कानसहितको प्रहरी’ भन्ने नारा छ । अर्कोतिर ती मुस्कानलाई बादल लगाउने आक्रोशको बहार छ । सेवाग्राहीका भागमा जहर नै जहर छ । आँखिर किन यस्तो ? प्रश्न अस्वभाविक नहोला ।   आफुले ड्युटी गरेको सडकमा सवारी आवागमनमा बिना अवरोध सुचारु रहोस् भन्ने चाहना ट्राफिक प्रहरीमा हुनु स्वभाविक नै हो । तर, भैदिन्छ जाम त्यसमाथि धुवाँ-धुलो, तातो घाम, अनि त टाउको तात्तिने नै भयो । प्रदुषणमा रहेर ड्युटी गर्दा गर्दा ७५ पर्सेन्ट भन्दा बढी ट्राफिक प्रहरीमा स्वास-प्रश्वासको समस्या देखिएको रिपोर्टले उनीहरुप्रति हरकोहीमा सहानुभूति जागृत हुनुपर्दछ । निश्चय नै सडकमा खटिने प्रहरीलाई हरकोहीले सहृदयी भई सहयोग गर्नुपर्छ । यसमा दुर्इमत छैन । चन्द्रमालाई नियाल्दा उज्यालो भन्दा दाग बढी देखिन्छ । यही तथ्यलाई मनन गर्दै ट्राफिक प्रहरीले पनि सजगता अपनाउनु पर्छ । जनगुनासोलाई तत्काल सुन्नुपर्छ । जनउत्तरदायी प्रहरीले सुधार्नु पर्ने कुरामा पहल गर्नुपर्छ ।  

किन हुन्छ सडक जाम ? कसको कब्जामा छ सडक ? 
गाडी धेरै भएर नि ǃ प्रश्नको उत्तर यही हुन सक्छ । एकातिर सडकभरि गाडी छन्, अर्कोतर्फ गाडी नै पाइएन भन्दै यात्रुहरु प्रतिक्षालयमा घन्टौं कुरिरहेका हुन्छन् । यो बेथिति कसरि भयो त ? यात्रुले सवारी नपाउने, अनि सडकमा चै कसको सवारीले जाम बनाएको छ त ? एक पटक उपत्यकामा चल्ने सवारीको लेखाजोखा गरौँ ।    भर्खरै संचार माध्यममा प्रकाशित विवरण अनुसार उपत्यकामा (बागमतिमा दर्ता भएका) चल्ने सवारीका विवरण यस प्रकार छन् :-  


बस :- १०,३७९ मिनीबसमा :-९,८३५ ट्रक, मिनीट्रक :-१८,९२९  क्रेन, रोलर,एक्जाभेटर :-६,५३५  कार, जिप, भ्यान :-१,२५,४३९  पिकअप :-१७,१७० माइक्रोबस :-२,१२३  टेम्पो :-२,५२८  ट्याक्टर:-२,९०८  एम्बुलेन्स :-५४७  सिडी युएन :-३,७८७ (श्रोत :- नयाँ पत्रिका दैनिक )  
 यो आँकडालाई नियाल्ने हो भने उपत्यकामा लगभग २ लाख गाडीजन्य सवारी गुड्ने गर्दछन् । त्यसमा क्रेन-रोलर-एक्जाभेटर जस्ता सवारी निर्माणका औजार हुन् । एम्बुलेन्स-दमकल भनेका आपतकालीन सवारी हुन् । ठुला बस तथा ट्रकहरुलाई भित्रि सडकहरुमा प्राय निषेध नै गरिएको छ । यद्यपी उपत्यकामा चल्ने सार्बजनिक सवारीको संख्या ट्याक्सी सहितलाई गणना गर्नु पर्दा लगभग ३७,००० को हाराहारीमा देखिन्छ । त्यसैगरि सरकारी कार-जिप-भ्यान-एयरपोर्टमा चल्ने कार- सस्थानका कार-सिडी यूएन समेत गरी लगभग १५-२० हजारको संख्यामा देखिन्छन् । ट्याक्टर- मिनीट्रक-पिकअप जस्ता वस्तु ढुवानीका साधन पनि निश्चित स्थान र समयमा गुड्न पाउंछन् ।    अब कुरा गरौँ, उपत्यकाको गल्लि-गल्लीमा निर्बाध चल्ने रातो प्लेटधारी निजि कार-जिप-प्राडो-पजेरोको । यसको संख्या लगभग एक लाखको हाराहारीमा देखिन्छ । एकातर्फ सम्पूर्ण सार्बजनिक सवारी साधन, सरकारी सवारी, संस्थानका सवारी, कुटनैतिक नियोगका सवारी, एम्बुलेन्स-दमकल, बस-मिनिबस -ट्याक्सी- ट्याम्पो, ट्रक-मिनीट्रक र अर्कोतर्फ यी राता प्लेट्धारी कार-जिप-प्राडो-पजेरो, गणना गर्ने हो भने रातो प्लेटकै पल्लाभारी देखिन्छ ।  

उपत्यकामा कति छन् रातो प्लेटको कार चढ्नेको संख्या ? 
एक लाख कार हुनुको अर्थ एक लाख परिवारले कारको प्रयोग गर्दै आएका छन् । अब औसतमा एउटा परिवारमा ५ जनाको संख्याले हिसाब गर्ने हो भने उपत्यकामा लगभग ५ लाख मानिसले यसको प्रयोग गरेको देखिन्छ । एकातिर ५ लाख मानिसले १ लाख निजि सवारीको प्रयोग गरेको देखिन्छ भने अर्को तर्फ उपत्यका देशको राजधानी पनि भएकाले कुनै न कुनै रुपमा ७५ जिल्लाबाटै आउने २ करोड साठी लाख मानिसहरु जम्माजम्मी ३७००० को संख्यामा रहेको सार्बजनिक सवारीमा कोच्चिन बाध्य भएका छन् । 

सडकमा पहिलो प्राथमिकता निजि सवारीको कि सार्बजनिक सवारीको ? 
अन्यत्र मुलुकमा के छ, थाहा छैन तर हाम्रो देशको सडकमा पहिलो प्राथमिकता निजि सवारीलाई हो कि जस्तो प्रतित हुन्छ ।चौक-गल्लि-दोबाटो एबम साँघुरो गल्लीमा भेट भयो भने निजि सवारी चालकहरुले सार्बजनिक सवारीलाई मिचेर अगाडि बढ्न खोज्छन् । प्यासेन्जर चढाउने-ओराल्ने क्रममा उनीहरुको आवागमनमा एकछिन मात्रै रोकावट भयो भने गालीगलौज गर्ने, हेप्ने,आँखा तर्ने जस्ता ब्यबहार खेप्नु पर्ने हुन्छ ।    मसँग भर्खरै घटेको ताजा अनुभव छ । एक जना बुढी आमैलाई नयाँ बानेश्वर स्थित भरोसा हस्पिटलमा ओराल्ने क्रममा बिपरित दिशाबाट कारमा हुँइकिंदै आएका महाशयको आवागमन निमेषभरका लागि अबरोध भयो । तिनले अपशब्द बोलेपछि मैले प्रतिबाद गरें र सल्लाह गर्न कारबाट ओर्लन चेतावनी दिएँ । तर उनी बाटो लागे । बुढी आमै एक्लै थिइन्, अस्पतालको ढोकामा पुर्याएर म आफ्नो बाटो लागें । थरथर काँपेको देख्दा सायद उनी ब्लड प्रेसर अथवा मुटुको रोगी हुनुपर्छ । यो हदको बेमतलवी दुनियाँ छ । यो त प्रतिनिधि उदाहरण मात्रै हो । यस्तो घटना दैनिक हुन्छन् ।    यसरी निजि सवारीले सार्वजनिक सवारीलाई हेप्नु भनेको एक लाख परिवारले बाँकी ४०-५० लाख परिवारलाई हेप्नु जस्तै कुरा हो । निजि सवारीले त हेपे-हेपे, हाम्रो समाजले पनि सार्बजनिक सवारीलाई त्यत्ति इज्जत दिएको देखिँदैन । निजि सवारी देख्दा तुरुन्तै बाटो छोडी दिने बटुवाहरु सार्बजनिक सवारीलाई बाल दिंदैनन । र, ट्राफिक प्रहरीले समेत निजी सवारीलाई भन्दा सार्बजनिक सवारीलाई पेलेको देखिन्छ । नो पार्किंङमा सात ओटा निजि सवारी छन् र एउटा मात्रै ट्याक्सी छ भने, पहिलो निशाना ट्याक्सी नै परेको देखिन्छ ।   आफुलाई परेको बेलामा बीर अस्पताल कसले पुर्याउँछ ? प्रशुतिगृहसम्म कसले पुर्याउँछ ? गंगालाल-न्युरो अनि केएमसी अस्पतालसम्म कसले पुर्याउँछ ? निजि सवारी तपाइको सेवाको लागि पक्कै हैन । अनि आफ्नै सेवाप्रदायक साधनमाथि हेय भाव किन ? बरु के कुरा बुझ्नु पर्यो भने, निजि सवारीको कारणले आफुहरुले प्रयोग गर्ने सार्बजनिक सवारी सधै जाममा पर्ने गरेको छ । जसको कारणले गन्तव्यमा पुग्न एक घण्टा, फर्कदा एक घण्टा गरी प्रत्येक मानिसको कम्तिमा दैनिक दुर्इ घण्टा समय नष्ट भएको छ । अढाई करोड मानिसको दुर्इ घण्टा समय बर्बाद हुनु भनेको दैनिक ५ करोड घण्टा समयको बर्बादी हुनु हो । त्यो ५ करोड घण्टा कुनै उत्पादनमुलक काममा लगाउने हो भने एउटा प्रोजेक्ट सम्पन्न हुन सक्छ । यसको मुल्य कुनै पनि अंकमा गणना गर्न सकिन्न ।  


सडक-जाम हटाउने उपाय :
 सडक जाम खुलाउने नै हो भने सर्बप्रथम सार्बजनिक सवारी बढी चल्ने समयमा रातो प्लेटका निजि कार-जिप-प्राडो-पजेरोहरुलाई रिङरोड प्रबेशमा रोक लगाउनु पर्छ । यसो गरेमा अहिले गुडेका सवारी चापमा ५० प्रतिशतले कमि आई यातायात आवागमनमा सहजता हुन्छ । अथवा एकै चोटी यसो गर्नु भन्दा पहिला सम्भावित उपायको खोजि पनि हुनै पर्छ । जस्तो कि, निजि कारमा जोर-बिजोर लागु गर्ने, कार्यालय समयमा गुड्न नदिने आदि आदि । र यी उपायबाट भएन भने स्थाई रुपमै रिंगरोड प्रबेशमा रोक् लगाउने ।  

यो अभियान सजिलो छैन । जनता नउठी सम्भव छैन । राज्यको नीति नियम बनाउने निकायका पदाधिकारी स्वयं त्यस्ता निजि कार आफ्नो घर कम्पाउण्डमा सजाउन सौखिन छन्, बाध्य पार्न जनधक्काको सख्त जरुरत छ ।सार्वजनिक सवारी क-कसलाई चाहिन्छ, व्यापक जनदवाबका लागि फिल्डमा उत्रनुको बिकल्प छैन । किनकि घन्टौंको जामले हाम्रो समय नष्ट भएको छ । बिरामी बोक्ने एम्बुलेन्स, आगो निभाउने दमकल जस्ता सवारीहरू बीच बाटोमै अलपत्र परेको, बाटोमै बिरामीको मृत्यु भएको, बस्ति खरानी भएको जस्ता दुखद घटनाहरु हामीले देखेका छौं । सरकारलाई ‘कर’ बापत मोटो रकम बुझाएको भन्दैमा सिमित संख्यामा (३७०००) गुड्ने सार्बजनिक सवारीलाई आवागमनमा अबरोध हुने गरि आएको निजि कारको बाढी अब सह्य हुन सक्दैन ।  

यसमा मानव अधिकारको कुरा पनि निस्किएला ।पैसा तिरेर बस्तुको उपभोग गर्न नपाउनु भन्दै उपभोक्ताबादी संघ संस्थाहरु प्लेकार्ड बोक्दै सडकमा पनि उत्रेलान । गाडीका स्वरूमधनीहरु आक्रोशित पनि बन्लान् । बिदेशी कम्पनी देखि लिएर उत्पादक देशका दुताबासबाट सरकारमाथि दवाव सिर्जना पनि गरिएला । देश विदेशको नजीर पनि पेश गरिएला । तर पनि १ लाख परिवारको साधनले बाँकी ५० लाख परिवारको बाटो अबरोध गराउनु, ढिला सुस्तिमा पार्नु भनेको अल्पसंख्यकले बहुसंख्यकमाथि गरेको अप्राकृतिक हमला हो । के उनीहरुको चै मानव अधिकार हुँदैन र ? राज्यले खरबौ खर्चिएर बनाएको सडकमा एक लाख परिवारको सवारीले ५० प्रतिशत हिस्सा ओगट्दै कपर्दी खेल्नु भनेको विश्वासै गर्न गाह्रो गतिबिधि हो । यसलाई सायदै कसैले लेखा जोखा गरेका होलान । तितो सत्य यही नै हो । 

यति मात्रै हैन, अलि विगततिर फर्किने हो भने आयल निगम घाटामा जानुमा यी निजि सवारीका साधनको पनि ठुलो भूमिका थियो । आयल निगमले पेट्रोलियम पदार्थ घाटामा बेच्थ्यो । महंगोमा ल्याएर सस्तोमा बेच्दा, जनताको नाममा निजि सवारीले कति इन्धन उपभोग गरे होलान ? हिसाब निकाल्न सानोतिनो डिजिटको क्यालकुलेटरबाट सम्भव हुँदैन । सरकारले अनुदान दिने, अनि आयल निगमको आधा हिस्सा तेल निजि सवारीले कुम्ल्याएर बाटो तताउने । यो सुक्ष्म हिसाब जति मसिनो गरि नियाल्यो, पहाड बनेर देखा पर्न सक्छ । अत: राज्य माथिको यो भार अन्त्य गर्ने बाटो खोज्दै दीर्घकालिन योजना अब ल्याउनै पर्छ ।    त्यसै गरि सडक जाम हुने अर्को मुख्य कारण ट्राफिक प्रहरीको गलत कदम पनि उत्तिकै जिम्मेवार देखिन्छ । त्यो के भने सडक जाम नहुने स्थानमा, आवागमनलाई असर नपर्ने गरि अड्याइएका सवारी साधनलाई मोबाइल-गस्ती गर्दै त्यहाँबाट खेदाउने क्रमसंगै चौक-चौकमा सवारी चाप बृद्दि हुने गर्छ ।   

ट्याक्सी ड्राइभर मिटरमा जान किन नमानेका होलान् ǃ 
मानी लिऔ, एउटा ट्याक्सी पुरानो बानेश्वरबाट प्यासेन्जर लिएर न्युरोड गएको छ । न्युरोडमा प्यासेन्जर ओर्लन्छ अब ट्याक्सी खाली हुन्छ । चालकले दायाँ-बायाँ आँखा लाउँछ । अर्को प्यासेन्जर पाई हाल्ने भन्ने हुँदैन । ट्राफिकको आँखा छलेर किनारामा रोकी त हाल्छ । ट्याक्सी ड्राइभरको यो व्यवहारसंग ट्राफिक प्रहरी चिरपरिचित छ । मुर्मुरिंदै ट्राफिक आउँछ, ट्याक्सी चम्पट ठोक्छ । अब जाने भनेको जमल-दरवारमार्गतिर नै हो । त्यहाँ पनि यस्तै लुकाछिपी चल्छ । ट्राफिकले अपराधीलाई झैँ चोर औंला तेर्स्याएर चेतावनी दिए पछि ड्राइभर सराप्दै आफै भित्र भुत्भुताउँदै कमलपोखरी-नक्साल-बालुवाटार-भाटभटेनी-मैतीदेवी पुग्छ । यो बिचमा कति ड्राइभरहरु जरिवानामा फस्न पुग्दछन् । अन्त्यमा त्यहाँ पनि बस्न पाइने हैन । बानेश्वरमा बिहान जहाँबाट निकालिएको थियो, ग्यारेज भित्रै हुलेर अर्को प्यासेन्जर खोज्नु पर्ने बाध्यतामा अहिले ट्राफिक ब्यबस्थापनले पुर्याईदिएको छ । जहाँबाट गयो, प्यासेन्जर नपाएर त्यै स्थानमा खाली फर्कनु पर्दा ट्याक्सी चालकले पैसा कमाउने भन्दा पनि पम्पको पेट्रोल बेच्न हिंडेको जस्तो अवस्था बिध्यमान छ । ट्याक्सी ड्राइभरहरुले बढी पैसा अर्थात् आउजाउ कै भाडा असुल्न खोज्नु यो पनि एउटा कारण हो । नो पार्किङ्मा रोक्दा अनि बढी भाडा असुल्दा कारबाही भोग्दै आएका छन् । तर पनि यो हर्कत बन्द भएको छैन । किन त भन्दा, जब सम्म सार्बजनिक साधनले पार्किङ्को सुबिधा पाउँदैनन, जहाँबाट आयो, खाली-खालि उतै लखेट्ने काम हुन्छ, ड्राइभर सुध्रिन नसक्ने बाध्यतामा पुग्छ । यो लेख लेख्दै गर्दा पत्रिकामा ट्याक्सी ड्राइभरले ठगेको कुरा आयो । यातायातले जरिवाना कम गरेकाले नसुध्रेको कुरा लेखियो । ३००० नाथे जरिवाना ड्राइभरले एकै दिनमा कमाउने भनेर हावादारी समाचार बनाएको देखियो ।   
औसतमा गाडी साहुले दिनको १००० रुपैयाँ लिने गरि ड्राइभरलाई आफ्नो गाडी दिएका हुन्छन् । दिनभर पेसिंजर भन्दा बढी खाली गुडाउनु पर्दा ७-८ सयको इन्धन खर्च हुन्छ । मुस्किलले २०००-२२०० रुपैयाको जम्माजम्मी कारोबार हुन्छ । आफ्नो श्रम-शीप-दक्षताको प्रयोगबाट दिनको ३-४०० रुपैयाँ भन्दा बढी एउटा ड्राइभरको खल्तीमा नसिव हुदैन । तर कुप्रचार किन यति ठुलो स्केलमा हुन्छ ? ताजुव लागेर आउँछ । यो सबै हुनुमा यातायात ब्यबस्थापन बिभाग जिम्मेवार छ । सडक क्षमता भन्दा बढी सवारी दर्ता किन गरियो ? के यो कर असुलेर कर्मचारी पाल्ने नियत हैन ? जनतालाई सुबिधा दिने योजना बनाउन नसक्ने कर्मचारी आँखिर कुन प्रयोजनका लागि हो ?   

एक लाख निजि कार दर्ता गरेर सार्बजनिक सवारीलाई चल्ने-चट्पटाउने ठाउँ समेत नदिनु भनेको बास्तवमा यातायात विभागको एउटा अक्षम्य प्रकृतिको सामाजिक अपराध हो । यसको प्रतिकार जनस्तरबाट हुन जरुरि छ । ट्याक्सीलाई पार्किङ्गको ब्यबस्था उपलब्ध गराई दिने हो भने अहिलेको भाडा दर भन्दा पनि कममा सेवा प्रदान गर्न तैयार हुन सक्छन् भन्ने मेरो बिश्वास छ । त्यसैले यसै सेरोफेरोमा ट्याक्सी चालक – ब्यबसायीहरु आन्दोलित बनेका छन् । यसलाई ठग्न पाऊँ भन्ने आन्दोलन हो भन्ने जस्तो नकारात्मक दृष्टिले नहेरीदिनुहुन सम्पूर्ण यात्रु महानुभावहरुमा बिनम्र आग्रह छ । यसको लागि सिमित घरानिया बर्गले प्रयोग गर्ने निजि कार-जिप-प्राडो-पजेरोले सडक खाली नगरी हामी सर्ब साधारणले चढ्ने सार्वजनिक सवारीको दिन सहज हुँदैन, र सार्बजनिक सवारीको दिन सहज नबनी तपाई-हाम्रो अमुल्य समय जाममा झोक्राउँदै बिताउनुको बिकल्प पनि रहँदैन भन्ने बुझेर त्यै अनुसार अगाडी बढ्नु हाम्रो लक्ष हुनु पर्छ भन्ने अनुरोध बिसाउन चाहन्छु । आउनुहोस्, तपाई हामी अढाई करोड जनले चढ्ने लगभग ३७००० सार्बजनिक सवारीलाई जामरहीत सहज आवागमन गराउन लगभग ५ लाखले मात्रै चढ्ने ठुलाबडाको एकलाख निजि कार-जिप-प्राडो-पजेरोको कपर्दीलाई आजैबाट निषेध गरौँ । किनकी, सडक ५ लाख मान्छेका लागि भन्दा अढाई करोड जनका लागि उपयोगी हुनु पर्छ । यातायात मजदुर एबम ड्राइभरहरुलाई चेपुवामा पारेर कदाचित समस्याको समाधान हुन सक्दैन । सम्बन्धितहरुमा चेतना रहोस् । -गोकुल कार्की  २०७३-६-११   

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi