बल्खुमा सुमोवालाको सैतानीले यात्रु अलपत्र
मनपरी भाडा असुल्न नपाएपछि काठमाडाैंकाे बल्खुबाट पूर्वका विभिन्न जिल्लामा सञ्चालन गरिदै अाएका सुमाे सेवा बन्द गरिएकाे छ । अहिलेको भाडादरमा घाटा भएको र दशैमा एकतर्फी काठमाडौँबाट जाने यात्रु मात्र हुने बताउँदै बल्खुबाट फर्पिङ–हेटौंडा चल्ने टाटा सुमो सेवा व्यवसायीले बन्द गरेका हुन् ।
मनोमानी भाडामा प्रहरीले कडाई गरेपछि सोमबार विहानैबाट व्यवसायीले सबै काउन्टर बन्द गरेर हिडेका छन् । गाडी नभएपछि विहानै बल्खु पुगेका हेटौंडा, निजगढ, लालबन्दी, विरगंजलगायतका ठाउँमा जाने यात्रु झिटीगुन्टा सहित बल्खुमा अलपत्र परेका छन् ।
दसैँ अगाडी बिरगंज काठमाडौँ ५ सय ५० भाडा दरमा यात्रु बोकेकोमा हाल व्यवसायीहरुले बल्खु–हेटाैंडासम्मकाे ६ सय रुपैयाँ लिन थालेपछि प्रहरीले निगरानी गरेको थियो ।
एकतर्फी यात्रु बोक्दा नपोसायको र दसैंमा ६ सय लिन नपाए सेवा दिन नसक्ने भन्दै सुमो यातायात व्यवसायीले काउन्टर बन्द गरेका हुन् ।
उता यातायात सेवा बन्द भएर बिचल्लीमा परेकाहरुलाई हेटौडा सम्म ८,१० हजारमा गाडी मिलाइ दिने दलालहरु थुप्रै भेटिन्छन । केही व्यवसायीले चेकिङ्ग झन्जटबाट बच्न गाडी सिंगै बुकिङ्ग गराएर बढी भाडा असुल्ने उपाय निकालेका छन् । यसरी दलाल मार्फत गाडी मिलाउने र ग्यारेज, गल्लि भित्रैबाट गोप्य तरिकाले चढाउने गरेकाले आफुहरु समस्यामा परेको टिकट नपाएका एक यात्रुले सुनाए । ननस्टपखबर बाट



