बेपत्ता अल्ट्रालाइट विमान एक वर्षपछि भेटियो
कास्की, २९ कार्तिक । एक वर्षदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट (विमान) आइतबार बिहान फेला परेको छ । २०७२ असोज २१ गते पोखरा विमानस्थलबाट उडेपछि हराएको अल्ट्रालाइट विमान माछापुच्छ्रे र अन्नपूर्ण हिमालबिचको खोँचमा टुक्राटुक्रा परेको अवस्थामा फेला परेको हो ।
![]() |
| फाईल तस्बिर |
समुन्द्री सतहबाट झण्डै १२ हजार फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा अल्ट्रालाइट फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलबाट उडेको ९ एन एउल आई कलसाइनको अल्ट्रालाइटलाई रसियन पाइलट ५० वर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए भने दक्षिण अफ्रिकी महिला ४० वर्षीया एलिजावेथ वेल त्यसमा यात्रारत थिइन् । शरीरको हड्डी, खप्पर तथा दाँत र जहाजको पाङ्ग्रासहित केही भाग सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । अल्ट्रालाइटको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको अवस्थामा फेला परेको छ भने मानव कङ्काल वरपर छरिएको अवस्थामा सङ्कलन गरेर ल्याइएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरा विमानस्थलको संयुक्त टोली आइतबार हेलिकप्टरमा गएर अल्ट्रालाइट र मानव कङ्काल सङ्कलन गरी ल्याएको र डिएनए परीक्षण गरी कङ्काल आफन्तलाई बुझाइने प्रवक्ता बज्राचार्यले जानकारी दिए ।




