साझा र महानगर पछी चक्रपथमा गुडे ठूला ‘ओरेन्ज बस’ / बसको रङ पनि ओरेन्ज !
हरिया साझा र राता महानगर बसपछि काठमाडौंको चक्रपथमा त्यस्तै ठूला ओरेन्ज बस संचालनमा आएका छन्।
श्री दुप्चेश्वर यातायात प्रालिले पहिलो चरणमा १० वटा ओरेन्ज बस संचालनमा ल्याएको हो। ति बसले बुधबारदेखि चक्रपथ परिक्रमा गर्न थालेका छन्। १० मध्ये एकतर्फीका लागि ५ र अर्कोतर्फीका लागि ५ बसहरु संचालनमा छन्। बसको आकार र सिट क्षमता अहिले संचालनमा रहेका साझाकोजस्तै छ।
चालकसहित ५५ सिट क्षमता रहेको बसमा यात्रुहरुको सुरक्षाका लागि सिसी क्यामरा पनि जडान गरिएको छ। तत्कालका लागि डिस्प्ले टिभी नराखिए पनि केही दिनमै डिस्प्ले टिभी जडान गर्ने तयारी गरिरहेको अध्यक्ष चित्रबहादुर थापाले सेतोपाटीलाई जानकारी दिए।
४ करोड ३५ लाखको लागतमा ति बसहरु संचालनमा आएका हुन्। ‘हामीले बस ल्याएर संचालन गर्दा एउटाको साढे ४३ लाख पर्न गयो’ थापाले भने ‘यसमा अझै डिस्प्ले टिभी जडान गर्नै बाँकी छ।’ निर्माता कम्पनी अशोक लेल्याण्डको ओरेन्ज बसमा ढोका बीच भागमा रहेको छ।
यातायात कम्पनीका उपाध्यक्ष दिवाकर धितालका अनुसार सरकारले ठूला बस ल्याउँदा दिएको भन्सार सुविधा समेत प्रयोग नगरी यी बसहरु भित्र्याइएका हुन्। ‘प्रक्रियागत झमेलाका कारण हामीले ५ प्रतिशत भन्सार शुल्क पनि तिरेर ल्याएका हौँ’ उनले भने। माछापुच्छ्रे बैंकको वित्तीय सहयोगमा बसहरु संचालनमा ल्याइएको धितालले जानकारी दिए।
बसमा लोकेसन ट्रयाक हेर्न जिपिएस प्रयोग गरिएको छ। जिपिएसले बस संचालन भइरहेको रुट तथा स्थान देखाउँदछ। ‘यात्रुले मन पराइसकेकाले अझै १० वटा बस संचालन गर्ने तयारीमा दुप्चेश्वर यातायात प्रालिले तयारी गरेको छ’ अध्यक्ष थापाले भने।
ति बसमा २० रुपैयाँ भाडा तिरेपछि पुरै चक्रपथ परिक्रमा गर्न पाइने उनले जानकारी दिए। ‘ग्राहकको घुम्ने इच्छालाई मध्यनजर गर्दै २० रुपैयाँमा चक्रपथ परिक्रमा गर्न सक्नेगरी भाडा तय गरिएको छ’ थापाले भने ‘अन्यमा जस्तो ओरेन्ज बसमा यात्रु ठगिनु पर्दैन।’
विद्यार्थीका लागि १० रुपैयाँ, अन्य यात्रुलाई न्यूनतम १३ रुपैयाँ भाडा तय गरिएको छ। बसमा ५४ जना सहजै बस्न मिल्छ। ३ बाई २ क्रोममा सिटहरु रहेको छ। उभिँदा १ सय ३० जनाले यात्रा गर्न सक्ने क्षमता बसमा रहेको अध्यक्ष थापाले जानकारी दिए।
उनका अनुसार ति बसहरु अहिले परीक्षणका रुपमा संचालनमा आएका हुन्। परीक्षण सफल भइसकेपछि र यात्रुले मन पराइसकेपछि थप बसहरु पनि संचालन गर्ने तयारी दुप्चेश्वर यातायातको छ।
यी ठूला बसमा अन्यमा जस्तो यात्रु उभिँदा असहज हुँदैन। समाउने डण्डी र फराकिलो ठाउँ हुने भएकाले यस्ता बसमा उभिने यात्रुका लागि पनि धेरै हदसम्म सहजता हुन्छ।
पछिल्लो समय सरकारले उपत्यका ‘मास ट्रान्जिट’को अवधारणा ल्याएअनुसार निजी क्षेत्रले सहयोग गरेको व्यवसायीहरु बताउँछन्। ‘हामी मास ट्रान्जिटको अवधारणालाई पुरा गर्न तयार छौँ’ उपाध्यक्ष धितालले भने ‘सरकारले जसरी कुरा गर्छ, लागू गर्न त्यसैगरी तत्परता देखाउनु जरुरी छ।’
उपत्यकामा माइक्रोबस, टेम्पो, निजी कार तथा मोटरसाइकलकै कारण बढी मात्रामा जाम हुने गरेको व्यवसायीहरु बताउँछन्। धेरै यात्रु अट्ने ठूला बस थप गर्दै सानालाई विस्थापन गर्न र सडकलाई चौडा पार्न सरकारले प्राथमिकता दिनुपर्नेमा व्यवसायीको सुझाव छ।
ठूला बसहरु संचालनमा ल्याएर सानालाई विस्थापन गर्दै जाने हो भने ट्राफिक जाम पनि कम हुने र दुर्घटनाका जोखिम न्यूनीकरणका लागि पनि सहयोग हुने व्यवसायी बताउँछन्।





