सिन्धुलीमा एकको ज्यान जानेगरि गाडी दुर्घटनामा , सात घाइते
विपी राजमार्ग अन्तर्गत सिन्धुलीमा शुक्रबार बेलुका भएका दुई दुर्घटनामा एकजनाको ज्यान गएको छ । सातजना घाइते भएका छन् । कमलामाई नगरपालिका–२ पिपलभज्याङमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो ।
सिन्धुलीगढी युद्धको २५० औँ विजय उत्सव समारोह हेरेर फर्केका यात्रु चढेको बा ४ ख ३४४३ नम्बरको मिनिट्रक शुक्रबार बेलुका दुर्घट्ना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–२ भद्रकालीका ६९ बर्षका सुकदेव श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पताल काभ्रेमा राति १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।
यस्तै कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा गुडिरहेको बोलेरोबाट खस्दा एकजना घाइते भएका छन् । सिन्धुलीगढीबाट सिन्धुलीमाडीका लागि छुटेको ना १ च ९६६० नम्बरको बोलेरोबाट खस्दा सिन्धुलीको बालाजोरका १८ वर्षका कुसराज दाहाल घाइते भएको प्रहरीले जनाएको छ । दाहालको काठमाडौंमा उपचार भइरहको छ ।




