काठमाडौं । सरकारले यातायात व्यवसायीहरुलाई वार्तामा आउन आह्वान गरेको छ । सरकारले सिन्डिकेट खारेज गरेपछि आन्दोलित हुन थालेका यातायात व्यवसायीलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गरेका हुन् । यातायात व्यवसायीहरुको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव सरकारको पक्षबाट अघि सारिएको छ ।
यातायात व्यवसायलाई व्यवस्थित बनाउन सरकारले यसलाई कम्पनी ऐनअन्तर्गत सञ्चालन गर्ने निर्णय लिएको पनि सचिव अधिकारीले जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायात क्षेत्रका देखिएको समस्याहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वार्तामार्फत् समस्या समाधान गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।
मंगलबार सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्दै सबै यातायात संघसंस्थाको दर्ता र नविकरण कम्पनी ऐनअनुसार गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि त्यसप्रति आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले नियम, कानुन र सर्वोच्च अदालतको आदेशअनुसार सिन्डीकेट खारेज गर्ने निर्णय कार्यान्वयनमा लैजान सरकारले यातायात क्षेत्रलाई कम्पनी ऐनअनुसार संचालन गर्न लागिएको स्पष्ट पारे ।



