काठमाडौंँ । यातायात क्षेत्रमा विगत लामो समयदेखि कायम ‘सिन्डिकेट’ हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीहरुले आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २० गते सांकेतिक रुपमा सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि पनि सरकारले आफ्ना माग सम्बोधन नगरे बैशाख २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति तय भएको महासंघ स्रोतले जनाएको छ । स्रातका अनुसार २६ गतेदेखि अनिश्चितकालीन बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित बनाउने रणनीतिमा व्यवसायीहरु लागका छन् ।
आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने बताइएको छ । साथै यही बैशाख ६ गते प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ । त्यसपछि आफ्ना माग सम्बोधनको प्रयास नभए गाडीमा विरोधस्वरुप कालो झण्डा राखिने र १९ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने व्यवसायीहरुले निर्णय गरेका छन् ।



