[ ]
Latest News Updates

ADVERTISE WITH US

समयमै सम्पन्न गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माणले गति लिंद
Sunday, January 10, 2016 Posted by Chitra Khabar

चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलद निर्माणको कार्यले पुनः गति लिएको छ ।
मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा इन्धन अभावमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको काममा केही ढिलाइ भएको हो । पछिल्लो हप्तादेखि कामले पुनः गति लिएको आयोजनाले जनाएको छ । हालसम्म विमानस्थल निर्माणको १४ प्रतिशत काम सकिनुपर्ने कार्यतालिका भए पनि चार प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
अहिले धावनमार्ग निर्माण तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण भइरहेको परियोजना निर्देशक ओम शर्माले जानकारी दिए । धावनमार्ग निर्माणअन्तर्गत अहिले टप स्वाइल रिमुभ्ड (सतहको घाँस हटाउने) कार्य भइरहेको छ । “ अहिलेसम्म एक हजार ६०० मिटर सतहको घाँस हटाउने कार्य सम्पन्न भइसकेको छ” उनले भने ।
विसं २०७४ पुस मसान्तसम्म निर्माण सकिने लक्ष्य राखिएकामा अहिले सोही लक्ष्यअनुसार निर्माण सक्ने गरी काम अगाडि बढाइएको छ । 

इन्धनको कमी हुन दिइँदैन
विमानस्थल निर्माणका लागि आवश्यक सुरक्षा व्यवस्था र इन्धनको सहजताका लागि स्थानीयस्तरबाट दरिलो प्रबन्ध मिलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
इन्धन र सुरक्षाको कमी हुन नदिने उनको भनाइ छ । अहिले परियोजनाको काम शतप्रतिशत रुपमा सुरु गर्न दैनिक १२ हजार लिटर इन्धनको आवश्यकता रहेको छ । स्थानीयस्तरमा नदीजन्य पदार्थ उपलब्ध नभएका कारण निर्माण कार्य प्रभावित भएको छ ।
धावनमार्ग निर्माणका लागि एक लाख २० घनमिटर माटो आवश्यक रहेको र त्यो मर्चवार क्षेत्रमा पाइने भए पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकिएको उनले बताए । यसैगरी करिब छ लाख घनमिटर नदीजन्य पदार्थ बालुवा, ढुङ्गा, गिट्टी आवश्यक पर्ने भए पनि अहिले त्यो पनि नपाइएको निर्देशक शर्माको भनाइ छ ।

नदीजन्य पदार्थका लागि स्थानीय प्रशासन हुँदै मन्त्रालयमा माग गरेको भए पनि मन्त्रालयबाट अझै टुङ्गो लागेको छैन । सम्बन्धित मन्त्रालयले परिपत्र गरी जिविसबाट तोकेको रकम तिरी सिधै नदीजन्य पदार्थ ल्याउन सकिए निर्माणमा सहयोग पुग्ने शर्माले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले तोकिएको समयभित्रै विमानस्थल निर्माण सम्पन्न हुने बताए । उनले त्रिभुवन विमानस्थलपछिको यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भएको बबताए ।
यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि उपाध्क्ष डा खतिवडाले आयोजनासँग सम्बन्धित व्यक्ति तथा रुपन्देहीका प्रजिअलाई निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए ।

समयावधिभित्रै विमानस्थल निर्माण सक्न सरकारकातर्फबाट कुनै पनि कमी हनु नदिने गरी आफूले पहल थालेको उनले बताए । विमानास्थल निर्माणअन्तर्गत अहिले निर्माण भइरहेको धानवमार्ग १ दशमलव २५ मिटर उँचाइ, तीन हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइको दुवै किनारमा १५/१५ मिटर ठाउँ छाडिने छ भने स्तरोन्नतिपछि यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा प्रयोग गरिने छ ।
अहिले विमानास्थलको धावनमार्ग एक हजार ५२४ मिटर लम्बाइ तथा ३० मिटर चौडाइ रहेको छ । स्तरोन्नतिपछि बोइङ, एयरबस जस्ता ठूला विमान पनि भैरहवामा अवतरण गर्न सक्ने कार्यक्रम निर्देशक शर्माले बताए । पहिलो चारणमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, तीन हजार मिटरको धावनमार्ग र त्यसकै सामानान्तरमा ट्याक्सी मार्ग, कन्ट्रोल टावर र प्रशासकीय भवन, मुख्य सवस्टेसन, नहरलगायत पूर्वाधारको काम हुनेछ ।
एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा विमानास्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई जिम्मा दिएको हो । कुल करार मूल्य ६ अर्ब २२ करोड, ५१ लाख २० हजार २२८ रूपैयाँ रहेकामा एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत ऋण, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानास्थलको स्तरोन्नति हुँदैछ । दीपक घिमिरे/रासस 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi