[ ]
Latest News Updates

ADVERTISE WITH US

चालकलाई कारबाही सुरु/ नयाँ भाडादर लागू गर्ने जानकारी
Sunday, February 14, 2016 Posted by Chitra Khabar

२ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ ।
माघ ४ गते नै नेपाल आयल निगमले पेट्रोलमा रु पाँच र डिजेल एवम् मट्टितेलमा रु छ भाउ घटाएकोमा विभागले भाडा समायोजन गर्न आनाकानी गर्दै आएको थियो । माघ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएपछि मात्र विभागले माघ २४ गते भाडा समायोजन गरेको थियो । समायोजनको एक हप्तासम्म पनि व्यवसायीले यो भाडादर लागू नगरेपछि विभागले विशेष कार्ययोजनासहित कारबाहीको प्रक्रिया अघि बढाएको हो ।
यात्रुवाहकमा २.५३, तराईका मालवाहकमा ३.७६, पहाडका मालवाहकमा ३.२८, ट्याक्सीमा १.६५ प्रतिशत भाडा घटाउने निर्णय विभागले गरेको थियो । उक्त निर्णयपछि छोटो दूरीमा भाडाको खास असर नपरेपनि लामो दूरीमा केही भाडा घटेको छ । नयाँ भाडादरअनुसार चार किमीसम्म रु १३.०७ भएपनि रु १३ कायम भएको छ । तर व्यवसायीले कम्तीमा पनि रु १५ नै उठाउने गरेका छन् ।
उपत्यकामा २५ किलोमिटरसम्मको दूरीमा भदौ २५ गते घटाइएको भाडादरअनुसार रु २५ थियो भने अहिले रु एक घटेर रु २४ भएको छ । तर व्यवसायीले रु ३५ सम्म उठाइरहेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ बताउँछन् । “अनुगमन र कारबाही नगरिँदा व्यवसायीमा स्वेच्छाचारिता बढेको छ” उनले भने ।
भदौ २५ को भाडादर लागू गर्ने क्रममा विभाग र ट्राफिक प्रहरीले सक्रियता देखाई तोकिएभन्दा रु एक बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म कारबाही गर्दा स्वेच्छाचारिता कम भएको उनको भनाइ छ ।
विसं २०७१ माघ २६ र पुस ९ गते विभागले घटाएको भाडादर पनि लागू भएको थिएन । भदौ २५ गते घटाएको भाडादर लागू गर्ने क्रममा असोज ७ गतेखेखि भारतको अघोषित नाकाबन्दी सुरु भएपछि बीचमै रोकिएको थियो ।
नाकाबन्दीका समयमा राज्यले सार्वजनिक यातायातलाई डिजेल उपलब्ध गराएपनि यात्रु ठगिने विभागका प्रवक्ता एवम् अनुगमन शाखा प्रमुख निर्देशक बसन्त अधिकारी बताउँछन् ।
सवारीका चालक र परिचालकको तजबीजमा मनपरी भाडा लिने र समितिले जरिवाना तिर्दा चालक परिचालकमा स्वेच्छाचारिता बढेकाले कारबाही सुरु गर्न बाध्य हुनुपरेको विभागले जनाएको छ । माघ २४ गते सरकारले घटाएको भाडाअनुसार काठमाडौँ उपत्यकामा २५ किलोमिटरसम्मको दूरीमा अधिकतम रु २४ भन्दा बढी भाडा लिन नपाइने भनिएपनि साँखु रुटमा चल्ने साँखु बस व्यवसायी सङ्घका सवारीले पुरानोबसपार्कबाट साँखुसम्मको १८ किलोमिटरको दूरीमा स्थानीय यात्रुसँगै रु ४० सम्म भाडा असुलेको पीडित यात्रु रश्मिला श्रेष्ठ बताउँछिन् ।
साँखुको सालीनदीमा लाग्ने मेलामा आउने यात्रुसँग चालक र परिचालकले डिजेल कालाबजारियासँग किनेको भन्दै रु १०० सम्म पनि भाडा असुलेका छन् । भदौ २५ गतेपछि एक हप्तासम्म विभाग र ट्राफिक प्रहरीको सक्रियताले रु १५ लाख बढी राजश्व कारबाहीबाट उठाइएको विभागले जनाएको छ । रासस 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi