[ ]
Latest News Updates

ADVERTISE WITH US

"जहाज दुर्घटना दुखद मात्र हैन, शरमको विषय पनि हो" वरिष्ठ पाइलट जिपी रिजाल
Monday, February 29, 2016 Posted by Chitra Khabar

काठमाडौं, फागुन १६ – जिपी रिजाल अथवा नेपालका धेरै वरिष्ठ पाईलटहरुका पनि गुरु । ४० वर्ष नेपालमा हवाई उडान गरेका रिजाल नेपालका प्राय सबै विकट क्षेत्रमा हवाई मैदान बन्नासाथ ती हवाई मैदानमा जहाज उतार्ने पहिलो पाईलटमध्ये एक हुनुहुन्छ । रिजालले नेपालका डाडाकाँडाका सबै विमानस्थलमा ४० वर्ष अघिदेखि विमान उडान र अवतरण गर्नुभयो ।   
नेपालको दुर्गम क्षेत्रमा हवाई उडान सुरु भएको चार दशक भयो । यो चार दशकमा प्रविधिले फड्को मारेको छ । त्यो बेला अत्याधुनिक प्रविधि थिएन । त्यसैले पाइलटहरु आफैं सिक्दै र अरुलाई सिकाउँदै दुर्गम क्षेत्रको उडान गर्थे । रिजालले पनि त्यसै गर्नुभयो । अहिले जहाजमै पनि आधुनिक प्रविधि छ । ठाउँठाउँमा मौसमी सूचना केन्द्र स्थापना भएका छन् र क्यामरा जडान गरिएका छन् । तर विमान दुर्घटना पहिलेको तुलनामा बढेका छन् । 
अघिल्लो हप्ता दुई दिनको अन्तरमा म्याग्दी र कालिकोटमा भएका दुईवटा जहाज दुर्घटनामा २५ जनाको ज्यान गएपछि नेपालको दुर्गम क्षेत्रमा उडान सुरु गर्नेमध्येका एक पाइलट जिपी रिजाल भन्नुहुन्छ ‘यस्ता दुर्घटना दुखद त हुन् नै, शरमका विषय हुन् ।’
४० वर्ष हवाई उडान गरेका अनुभवी पाइलट रिजाल भन्नुहुन्छ–अहिलेको छानबिन समितिले ५ वटा कुरालाई केन्द्रमा राखेर काम गर्ने र सरकार सम्बेदनशील हुने हो भने भविष्यमा एउटा पनि हवाई दुर्घटना हुँदैन । 

प्रस्तुत छ, उहाँको भनाई उहाँकै शब्दमा :

अघिल्लो हप्ता लगातार दुईवटा दुखद हवाई दुर्घटना भए । सबै नेपालीको निम्ति दुःखको घटनासँगै लज्जाको विषय पनि भयो । सरकारी निकाय घटना पर्खेर बस्छन् र घटना पछि मात्र बिउँझिन्छन् भन्ने देखाएको छ । यो बडो सम्बेदनशील विषय भएको छ । 
अहिलेको स्थितिले हामीलाई धेरै सुधार गर्नुपर्ने र सिक्नुपर्ने पाठ दिएको छ । विमान दुर्घटना छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा केही सुधार भएको छैन भन्ने पुष्टी भएको छ । ५ वटा कुरामा केन्द्रित भएर अहिलेको छानवीन टोलीले काम गर्यो भने भविष्यको निम्ति सुधारका कुरा हुन्छ । जहाज किन दुर्घटना भैरहेको छ भन्ने कुराको दोष यसैभित्र खोज्नुपर्छ ।

१. भौगोलिक स्थिति :

हाम्रो भौगोलिक स्थिति कहिल्यै पनि परिवर्तन हुँदैन । डाँडाकाँडा कहिल्यै परिवर्तन हुँदैनन् । हिजो जस्तो थियो भौगोलिक स्थिति, हिजो जसरी गरिन्थ्यो उडान, अहिले पनि हुने त्यही नै हो । धेरै ठाउँमा त सुुधार भैसकेको छ । कतिपय ठाउँमा क्यामरा राखिएको छ । मौसमी केन्द्र स्थापना गरिएको छ । 

२. विमान तथा तिनका अवस्था :

कालिकोटमा भएको जहाज दुर्घटनामा यात्रुले भनेका छन्, जहाजमा पटपट आवाज आयो । यस्तो आवाज आयो भन्नुको मतलव जहाजको इञ्जिन खराब थियो । यसले प्रष्ट पार्यो विमानको अवस्था कस्तो थियो भन्ने कुरा । सिंगल इञ्जिन भएका बिमानमा यात्रु चढाउन पाईंदैन भन्ने नियम पहिले पनि थियो । तर कसको दबाबमा फेरि यो सुरु भयो ? यो दुर्दशा कसले र के ले निम्त्यायो ?

३. सरकारी तथा निजी विमान कम्पनी 

सम्बन्धित बिमान कम्पनीहरुको पनि छानबीन हुनैपर्छ । किनभने विमान कम्पनीहरु चोखो भएका भए यस्ता घटना दोहोरिंदैन थियो । यो विषयमा म यति भन्छु, नेताहरु, सरकारी अधिकारीहरुका सुख सयल ऐश आरामदेखि लिएर पार्टीका भवनहरुसम्मका कुराहरुमा सम्बन्धित छन् निजी बिमान कम्पनीहरु । त्यसो हुनाले केले प्रभाव पारिरहेको छ भन्ने कुरा सारा दुनियाँले बुझेको कुरा हो । 

४. पाइलट र तिनको दक्षता :

यसको विषयमा पनि अलि गहिरिएर सोच्नुपर्छ । कालिकोटमै भएको दुर्घटनाको कुरालाई लिने हो भने हामीले सलाम गर्नुपर्छ ति पाइलटलाई । मैले नेपालगंजदेखि जुम्लासम्मको त्यो रुटमा हजारौंपटक विमान उडान र अवतरण गरेको छु । अत्यन्त दुर्गम र विकट ठाउँ हो त्यो ।
त्यहाँ आकस्मिक अवतरण गर्ने सानो ठाउँ तुरुन्तै खोज्नै मुश्किल पर्छ । तर ती पाइलटहरुले तुरुन्तै ठाउँ खोजेर ल्याण्ड गर्न सक्नु निकै ठूलो दक्षता र साहस हो । तर दुर्भाग्य पाइलटको ज्यान गयो । यो नेपालको इतिहासमा अति अनौठो र अत्यन्तै साहसिक कार्यको रुपमा अंकित हुनेछ ।
कुनै कुदिरहेको मान्छेको खुट्टा तान्दिनुभयो भने उसको नाक जोतिन्छ । त्यहाँ त्यस्तै भयो । म भन्छु ति पाइलटले देखाएको साहस र योगदानको सरकारले उच्च सम्मान र कदर गर्न सक्नुपर्छ ।

५. सरकारी निकायको गाम्भीर्यता :

अनुगमनको लागि सरकार छ । सरकारी निकाय छन् । तर ती निकाय कति प्रभावकारी रैछन् भन्ने कुरा त थाहा भैसक्यो । उनीहरुले प्रभावकारी रुपमा काम गर्नै सकेका रहेनछन् । आफ्नो जीवनयापनको लागि कुनै सरकारी निकायको कर्मचारीले निजी विमान कम्पनीको नोकरी गर्नुपर्छ भने उ कोबाट नियन्त्रित हुने ? उसले कसरी त्यही एयरलाइन्समा अनुगमन गर्ला ? म कसैलाई दोष दिन्न ।
तर यो लाचारी हो । सरकारले दक्ष पाइलटलाई उनीहरुको जीवनयापनको लागि अर्काको निजी विमान कम्पनीमा नोकरी गर्नुपर्ने त्यो दुर्दशामा राखेको छ भने के आशा गर्न सकिन्छ र ? 
सरकारले अहिले गठन गरेको विज्ञ तथा प्राविधिक समूहलाई मेरो के आग्रह छ भने उनीहरुले यति ५ वटा बिषयमा आफ्नो अनुसन्धान केन्द्रित गरुन् । नेपालको हवाई उडान क्षेत्रलाई सुधार र सुरक्षितसँगै नेपाली आकाश राम्रो छ भन्ने कुरा विश्वलाई नै देखाउन सकिन्छ । अतुलनीय विकटताका बावजुद हामी नोपलीले नै सुरक्षित उडान गर्न सक्छौं भन्ने कुरा प्रमाणित गर्न सकिन्छ ।
यो टिमले निजी विमान कम्पनी सञ्चालकको आँखा खुलाइ देओस् । सरकारी निकायलाई पनि आँखा खुलाइ देओस् । पाइलटहरुको दक्षता र खुबीको महत्व कति हुँदो रहेछ भन्ने कुरा पनि सबै सामु प्रष्ट पारि देओस् । मलाई लाग्छ साँच्चै महत्व दिएर यो काम गरियो भने नेपाली आकाशको उडानलाई सय प्रतिशत सुरक्षित बनाउन सकिन्छ ।  
सरकारी निकाय हेल्चेक्राईंको कारण निर्दोष यात्रु र पाइलटको ज्यान गैरहेको छ । सरकारी निकायमा बसेर काम गर्ने मान्छेको प्रवृत्तिमा सुधार आओस् । 

– प्रस्तुति : मिलन तिमिल्सिना 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi