गाउँमा बनाइदिए मोटरबाटो अरबमा बस्ने एक युवाले
२१ चैत, दमाम । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गरेका छन् ।
पाँचथरको भारपा–५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले २७ लाख रूपैयाँ खर्चेर गाउँमा मोटरबाटो निर्माण गरेका हुन् । मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निम्नमाध्यमिक विद्यालयसम्मको पाँच किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।
विकासका अन्य पूर्वाधारसँगै मोटरबाटोको पहुँचबाट टाढा रहेको उक्त गाउँमा लिम्बूको एक्लो प्रयासमा सडक निर्माण गरिएको हो ।
साउदीको जुबेलमा ‘न्यू अन्नपूर्ण नेपाली होटेल’ सञ्चालन गरेका लिम्बू आफ्ना गाउँलेले मोटरबाटो खन्न गर्न आग्रह गरेपछि निर्माणका लागि तयार भए ।
निर्माण गरिएको उक्त सडकको नयाँ वर्षमा उद्घाटन गर्ने कार्यक्रम रहेको लिम्बूले बताए । ‘सडक बनेकाले अब बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता हुनेछैन,’ उनले भने ।
समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको सहमतिमा उक्त सडकको नाम ‘यावामार्ग’ राखिएको छ । मोटरबाटो सञ्चालन भएपछि पाँचथर, खुवा, सिडिम, प्राङबुङ, एकतीनलगायत गाविसका करिब एक लाख बासिन्दा लाभान्वित हुने बताइएको छ ।
भारतीय सीमासित जोड्ने लक्ष्यसहित निर्माण गरिएको सो सडक आगामी वर्षभित्र ग्राभेल गरिने लिम्बूको भनाइ छ । सो क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको सहमतिमा उक्त सडकको नाम ‘यावामार्ग’ राखिएको छ ।
मोटरबाटो खन्ने क्रममै मूल भेटिएपछि खानेपानी योजनाको काम अगाडि बढाउने लक्ष्य लिम्बूको छ । उक्त गाउँमा हिउँदयाममा खानेपानीको अभाव हुने गरेको छ । स्थानीय बासिन्दा हाल पानी लिन गाउँदेखि एक किलोमिटर टाढा रहेको खोलासम्म धाउनुपर्ने बाध्यता रहेको छ । मोटरबाटोसँगै खानेपानीको अभाव टर्ने भएपछि गाउँवासी निकै हर्षित भएका छन् ।
एघार वर्षअघि सामान्य कामदारका रुपमा लिम्बू साउदी अरब पुगेका हुन् । उनको होटेलमा अहिले १४ जना नेपालीले रोजगारी पाएका छन् । रासस





