ट्राफिक प्रहरी भन्छन् - पेटभरी धुलो खाइन्छ, मजाले पचाइन्छ
सुजाता खत्री/उज्यालो ।
काठमाडौं, जेठ २० – गाडीको धुवाँ र धुलोले कुहिरीमण्डल हुने सातदोबाटो चोकमा टिर्र्र सिट्ठी बजाउँदै उभिएका ट्राफिक प्रहरी हवल्दार ईश्वर कुमार बन्जारालाई बोल्ने फुर्सद पनि छैन । उहाँ घरी यता दौडनुहुन्छ, त घरी उता । 

हातको इसाराले बाटोमा गुडेका गाडीलाई सहि बाटोमा लगाउँदा लगाउँदै पसिना नै छुट्छ । उहाँले ट्राफिक प्रहरी भएर काम गर्न थालेको १२ वर्ष भयो । तर कलंकी–कोटेश्वर सडकमा काम गर्न अन्तजस्तो सहज छैन । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म, बेलुकी ५ बजेदेखि साढे ६ बजेसम्म हात हल्लाउँदा हल्लाउँदै थाकिन्छ’ एकैछिन सिट्ठी बजाउन छाडेर उहाँले आफ्नो व्यथा सुनाउनुभयो ।

बाटो बन्न थालेपछि सडक साँघुरा भएका छन् । तर सवारी साधन भने बढेको बढ्यै छ । ‘हाम्रो काम नै सवारी व्यवस्थापन हो, तर यहाँ अन्त भन्दा काम गर्न धुलो नै धेरै छ ।’ टोपीको धुलो टकटकाउँदै उहाँ भन्नुहुन्छ, ‘पानी आयो भने त बाटोमा गुड्ने गाडीले हिलो छ्यापेर हैरान नै पार्छन् ।’
बाटो साँधुरो भएकोले कुनै गाडी एकै छिन रोकियो भने पनि धेरैतिर जाम हुने हुनाले ट्राफिक प्रहरी सधैं बाटोमा नै बसेर रेखदेख गर्नुपर्ने हुन्छ । उहाँका अनुसार एक मिनेटमात्र पनि गाडी रोकियो भने १५ मिनेट भन्दा लामो जाम पर्छ ।
यसरी सधैँ बाटोमा नै बसिरहनुपर्ने भएकोले धुलो खाएर नै पेट भरिने बन्जाराले बताउनुभयो । ‘मुखमा माक्स लगाएको भएपनि सिट्ठी फुक्नको लागि माक्स खोल्नुपरिहाल्यो,
अनि धुलो नखाने त कुरा नै भएन ।’ धुलोको कारण रुघा निको नै नभएको उहाँले बताउनुभयो । यतिमात्र नभएर कराउँदा घाँटी दुख्ने र स्वर पनि सुक्ने गरेको छ ।
काम नै यस्तै भएकोले अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या नभएपनि पछि केही होला भन्ने पीर पनि छ । सडक निर्माण कामसँगै खानेपानीको पाइप लाइन, टेलिफोन लाइन, ढल राख्नलाई बनेका बाटो पनि खन्ने र राम्ररी नपुर्ने गर्नाले गुडेका गाडी फस्ने गर्छन् । गाडी एकैछिन् रोकियो भने जाम हुने भएर आफैले साबेलमा माटो बोकेर पनि बाटो पुर्नुपरेको उहाँले बताउनुभयो । 

बाटो निर्माणको कामले साँघुरो भएको सडकमा सवारीसाधनलाई निरन्तर चलाइरहन बेला बेलामा अफ्ठ्यारो नै पर्छ । प्रदुषण त बढेको नै छ । निर्माण साम्रगी जथाभावी राख्नाले पनि सवारीलाई निरन्तर पास गराउन समस्या हुन्छ । ‘प्राइभेट गाडी त नरोकिन जान्छन्, तर भाडाका गाडी चाहिँ मान्छे हाल्न जहाँ पायो त्यहीँ रोक्ने गर्छन्’ उहाँ भन्नुहुन्छ, ‘गुरुजीहरु एउटा बुढो मान्छे पर्खेको हो भन्दै रोक्छन् तर त्यो एकछिनले पछि धेरै लामो जाम हुन्छ भन्ने बुझ्दैनन् ।’

बेलाबेलामा सवारी चालकले कुरा नबुझिदिँदा पनि विवाद पर्ने बन्जाराले बताउनुभयो । यात्रु हाल्नैको हतारोले गर्दा पनि नियम मिचेर गाडी गुड्ने गर्छन् । ‘यात्रुलाई जहाँबाट पनि उकाल्ने ओराल्ने गर्छन्, हामीले यहाँ रोक्न मिल्दैन भन्यो भने झगडा गर्न आउँछन्’ उहाँ भन्नुहुन्छ, ‘धेरै सवारी चालकहरुले हतपती आफ्नो गल्ती स्वीकार नगर्ने हुँदा धेरै कराउनुपर्छ, गल्ती स्वीकार गर्ने चालक धेरै कम हुन्छन् ।’
कलंकी–कोटेश्वर सडक निर्माणको काम हुन थालेपछि ठूला दुर्घटना भएका छैनन् । खुला सडक नभएकोले सवारी धेरै गतिमा गुड्न नपाएर दुर्घटना कम भएको हुन सक्ने उहाँले बताउनुभयो । तर सवारी एक आपसमा ठोक्किने, बाटोमा चिप्लेर लड्ने, खाल्डोमा फस्ने चाहिँ धेरै नै भएका छन् । सवारी धनी अलि सचेत भए पनि यस्ता दुर्घटना कम गर्न सकिन्छ ।
‘फराकिला बाटो बनेपछि जाम नहुने, यात्रु ओराल्ने उकाल्ने स्टेशन हुन्छ, यसैगरी बाटो काट्न जेब्राक्रस र ट्राफिक लाइटको व्यवस्था भएपछि यो समस्या हट्ने छ । तर बाटो बन्ने चाहिँ कहिले त ? हुन त बाटो ठूलो बन्नु मात्र समस्याको समाधान होइन ।’ बन्जारा भन्नुहुन्छ, ‘सबै सवारी धनीले आफूले पनि नियम पालना गर्नुपर्छ, नत्र ठूला दुर्घटना भएर ज्यान पनि जान सक्छ, अरुले निगरानी गर्ला, अनुसन्धानको दायरामा परिएला भनेर मात्र नियम पालना गर्नुपर्छ भन्ने होइन ।’
धुलोसँग रमाईरमाई काम गर्नुपरे पनि बाटो बनेपछि भने योे समस्या खेप्नु नपर्ने उहाँको आशा छ । ‘चाँडै नै बाटो राम्रो बने त सबैलाई सजिलो हुन्छ ।’ ३८ वर्षे बन्जाराले हाँस्दै भन्नुभयो ‘काम गर्ने ठाउँ सफा भएमा हाम्रो आयु पनि बढ्ला कि ?’ उज्यालो बाट



