[ ]
Latest News Updates

ADVERTISE WITH US

हाइवेमा ड्राइभरको जीन्दगी, किन जोडिन्छन् माइली र कान्छी (अन्तरबार्ता )
Wednesday, August 17, 2016 Posted by Chitra Khabar

प्राय बिरगंजबाट काठमाडौतिर चल्ने ना४ ख ८३०५ नम्बरको दश चक्के ट्रकमा लेखिएको छ ,  नयाँ गाडि किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै बिहे गरेर बिदेश जानु उस्तै उस्तै हो । 
यो मैले आफैले सोचेर लेखेको हैन । यो फेसबुकको कमाल हो । आज भोली फेसबुक नचलाउने को नै छ होला र ? मैले पनि फेसबुक चलाउँदै जाँदा मैले फेसबुकको स्टाटसमा देखेको थिएँ । अनि साभार गरेको हुँ । यो अहिले धेरै नै चर्चित छ । मैले ट्रक लिएर धेरै ठाउँमा गएको हुन्छु, धेरैले यस

को फोटो खिच्नुहुन्छ । धादिङको फिस्लिङमा रोकिएको ट्रकको यहि फोटो खिच्ने सिलसिलामा ट्रक चालक जयराम ढकालसँग हाईवे जिन्दगीका बारेमा कुराकानी ।

हाईवेमा १३ बर्ष 
मेरो नाम जयराम ढकाल हो । म अहिले ३२ बर्षको भएँ । गाडि हाँक्न लाको चाँहि १३ बर्ष पुग्यो । मैले २०५८ सालबाट सुरु गरेको थिएँ । ड्राइभिङ कै कुरा गर्दा सुरुमा ड्राइभिङ सेन्टरमा कार सिकेर सुरु गरेको हुँ । ढ्याप ढ्याप गर्नु चाँहि परेन । आफ्नै घरमा गाडि थियो । सुरुमा त्यसले गर्दा नि गाडि सिक्न सजिलो भयो । १३ बर्ष अगाडिको कुरा गर्दा सुरुमा बस चलाउँथेँ । नेपालगन्ज देखि काठमाडौंको बस चलाउँथेँ । सुर्खेत चल्ने पनि गाडी चलाएँ । अनि त्यो बस ९ बर्ष सम्म चलाएँ । घर चाँहि बनेपामा हो । अहिले मकवानपुरमा बस्छु । श्रीमति शिक्षीका छिन् । २ छोरीको बुवा हुँ । २०६२ सालमा बिवाह गरेको हुँ । मेरो मागि विवाह हो । विवाह गर्दापनि ड्राईभर नै थिएँ । बनेपामा जन्ति लगे । ससुराली हेटौडा हो । 

घरमा ड्राइभर बन्नु हुँदैन, यो राम्रो पेशा हैन, पढ्नु पर्छ ड्राईभर बन्नु हुँदैन भन्नु हुन्थो । बुवा आमाको बिचारमा यो ड्राइभर प्रतिष्ठित पेशा हैन भन्ने थियो तर अहिले १३ बर्ष भयो मैले हाईवेमा जिन्दगी बिताउन थालेको । अहिले म ना४ ख ८३०५ नम्बरको ट्रक चलाउँछु । अहिले तपाईले मलाई ट्रक ड्राइभर भनेर चिने हुन्छ ।  १३ बर्ष अघि काठमाडौको तिनकुनेमा तालिम लिएर म मोटर चालक भएको हुँ । म ७ कक्षा पढ्दा कै कुरा हो स्कुलबाट शैक्षिक भ्रमण जाँदा नै मैले जिनवमा ड्राईभर नै बन्ने निधो गरेको थिएँ । अहिले म ड्राईभर र गाडी मालिक दुवै हो । मैले चलाई रहेको यो गाडी पार्टनशिपमा किस्ता तिर्ने गरि किनेको हो । 
हाईवे नै संसार 
बिदेश जाने सोच पनि थियो नि तर बिदेश बाट फर्केर आउने साथीहरुले बिदेशमा धेरै दुख हुन्छ । त्यति दुख यहि गर्यो भने त नेपालमा पनि कमाइन्छ भन्नु हुन्थ्यो अनि उताको सपना त्यागे । अहिले चाँहि त्यस्तो सोचाई छैन । हाईवेको जिन्दगी प्राय अब लामो यात्रा हुन्छ । कहिले जाम पर्छ । कहिले पहिलो आउँछ । कहिले गाडी बिग्रन्छ । कहिले पहाडको बाटो पर्छ । त्यसैले सबै सर–समान लिएर हिड्छौं । पकाउनका लागि ग्यास स्टोप छ । एउटा घरको किचनमा समान्य हुनु पर्ने सबै पकाउनका लागि आवश्यक सर सामान गाडीमा नै हुन्छ । अनि रासन चाँहि बाटोमा जहाँ सहज हुन्छ त्यहि किन्छौ । खाना पकाउँछौं । भोक मेट्छौं । 

हाईवेको ड्राइभर 
धेरैले हामी जस्ता ट्रक चलाउने ड्राईभरलाई अल्लि भिन्नै सोच्छन् । अर्कै जिन्दगी जिउँछ । रंग रमाईलो धेरै गर्छन् । जे मन लायो त्यै गर्छन् । आनी बानी पनि ठिक हुन्न भन्नेहरु धेरै छन् तर त्यस्तो हैन । असल र खराब त जहाँ पनि हुन्छ नि ? एउटा आलु कुहियो भनेर बोरा भरिकै आलु खराब भन्न मिल्दैन । समय उहिले जस्तो छैन । व्यवसायमा प्रस्तिपर्धा छ । बल्ल बल्ल लोड पाईन्छ । समयमै भनेको ठाउँमा पुर्उन सके मात्रै फेरि अर्को काम पाईन्छ । त्यसैले हाईवेमा साईली र माईलीको नाता बनाउँदै हिंड्ने फुर्सद र समय अहिले ट्रक चलाउनेलाई हुँदैन । हाईवेमा गाडी साईड लगाएर बस्नुको कारण त कान्छीको मायाले हैन । गाडीको मायाले हो । झण्डै १०० किलोमिटर गाडी कुदेपछि उस्लाई पनि आराम दिनु पर्छ । नभए लोड भरिएको गाडीमा हिट बढी हुन्छ । चक्का पड्किन सक्छ । ईन्जिनमा खराबी आउन सक्छ । त्यसैले सडक किनाराका साना पसलको छेउमा गाडी रोक्यो । सुरक्षाको हिसाबले सजिलो पनि हुन्छ । आफुले पनि चिया नास्ता खान पाईन्छ । गाडीले पनि आराम पाउँछ । तपाई जस्तै धेरैले सोच्नु भएको जस्तो रमाईलोका लागि चै हाईवेमा गाडी रोकिएको हैन । अब बाहिरी बुझाई त्यस्तो भएनी भित्री कुरा यहि हो । धेरै कुरा फरक हुन्छ नि । मानिसहरुले साइली, माइली, कान्छीको कुरा हुन्छ भन्छन् तर यस्तो आरोपमात्र हो । 
अमेरीका यहीँ छ : महिनाको सरदर दुईलाख आम्दानी हुन्छ ।
काम जे गर्नुस् व्यक्ति खराब हुन सक्ला काम खराब हुँदैन । समाजले भनेका , कानूनले निषेध गरेका काम पो गर्न  हुँदैन त हैन भने सबै काम एउटै हो । मुख्य कुरा काम प्रति ईमान्दार हुनु पर्यो । काममा पनि आफ्नो जिम्मेवारी के हो बुझ्नु पर्यो । काममा लगाव हुनुपर्छ । परिश्रम गर्नेका लागि , काम प्रति ईमान्दार हुनेका लागि स्वर्ग यहि हो । अमेरीका यहि हो । युरोप यहीँ छनि । मलेशिया र कतार जानै पर्दैन । एम.आर.पि.त बिदेश घुम्न जानका लागि बनाउने हो । कुनैपनि कामलाई घृणा गर्नुहुँदैन । मैले र मेरो साथीले आज भन्दा पाँच बर्ष अगाडि यो ट्रकलाई ११ लाख खर्च गरेर किनेको हौं । अब १८ महिना किस्ता बाँकि छ । दुई जना मिलेर बराबार लगानी गरेका हौं  । म गाडी चलाउँछु । मेरा पार्टनर आफ्नै काममा हुनुहुन्छ । अहिले सबै खर्च कटाएर महिनाको सरदर दुईलाख आम्दानी हुन्छ । 
दुर्घटना 
उमेर कच्चा होईन, यात्रु, गाडी र आफ्नो ज्यानको माया नगर्नेहरुले बढी स्पिडमा हुँक्याउँछन् । म पनि त १८ बर्षकै उमेरमा त ड्राईभर भएको हुँ खै कहिल्यै त्यस्तो जोश निकालेर गाडी हाँकिन । यो व्यक्ति व्यक्तिमा फरक पर्ने कुरा हो । जोशमा त्यस्ता साथीहरु पनि धेरै छन् । जसले जोसमा गाडि चलाउने । धेरै स्पिडमा गाडि हाँक्ने गर्छन् । अझ छेउमा केटी राखेर हिड्न खोज्ने अनि त सक्कि गोनि जोशमा होस गुमाएपछि त । खासमा भन्ने हो भने एउटा दुर्घटनाको समाचार नबन्नका लागि सबै भन्दा पहिले ड्राईभर आफैले सावधानी अपनाउनु पर्छ । त्यसको लागि सुरक्षित तरिकाले ड्राइभिङ गर्नुपर्छ । स्पिडमा गाडि हाँक्नु भएन । ट्राफिक नियमको राम्रो ख्याल गर्नुपर्यो ।
कामलाई सम्मान गरौं । 
अब सम्मानित नभएको कारण भन्दा त आफ्नै पेशा प्रति गैरजिम्मेवारी नै भएर हो । यो पेशा गर्नेहरु अरु कसैको अधिनमा बस्नु नपर्ने । गाडिको स्टेरिङमा हुँदा आफु फ्रि भएको ठान्ने । त्यहि कारणले जे पनि बोल्ने । अझ केटा केटा मात्र हुने हुँदा जे पनि, जस्तो पनि खुलेरै बोल्दिने । अनि त यसले गर्दा अरुले हेर्ने, भन्ने दृष्टिकोण नै फरक भैदिन्छ । अनि अन्य समाजमा गएर केहि कुरा बोल्नुपर्दा त्यसतै नराम्रो बोली निस्किन्छ अनि त्यसलाई सबैले नराम्रो मान्छन् त्यसले पनि सम्मानित हुन नसकेको होला । तर सबै चालक त्यस्ता छन् भन्ने हुँदैन । जे होस धेरै त्यस्ता भेटिन्छन् ।

जोखिम 
ड्राईभरका लागि साय नेपाल नै सबैभन्दा जोखिमको देश होला । सडक निकै साँघुरा छन् । दशटन क्षमता भनेर बर्षै अघि बनाइएका हाइवे अहिलेसम्म यत्तिकै छन् । भत्केका बाटा छन् । सुधार छैन । नयाँ बाटो थपिन सकेका छैनन्  । बिग्रिएको बाटो बनाउन सरोकारहरुको ध्यान छैन । अझ पहाड चढ्ने गाडिहरुलाई झन् समस्या छ । दुर्घटना भयो भने सुरुमा कुटाई खाने ड्राइभर नै पर्छन हैन त ?सधैं दोषि अझ त्यसमा पनि ठुला सवारी साधनहरुलाई दोषि बनाइन्छ । बन्द हड्ताल भयो भने सबैठाउँमा होटलहरु पाइदैन । यात्रुहरुको लागि ठाउँठाउँमा शौचालय छैनन् । तुरुन्तै पहिरो हटाउने भन्ने कुनै नियम छैन । ट्राफिकहरु आउँदैनन् । 
सडकमा हिड्ने पैदल यात्रुहरुले पनि धेरै ध्यान दिनुपर्छ । बाटो साँघुरो छ । ध्यान दिएर हिड्नु पर्यो । अनि ड्राइभरले पनि लापरबाहि गरी दिनुभएन । एउटा ड्राइभरले मात्र गरेर पनि हुँदैन । सबैले यो बिषयमा ध्यान दिनुपर्छ । अब ड्राइभर लाईनमा आउन चाहानेहरुले पहिला राम्रोसँग यो पेशाका बारेमा बुझ्नुस् । रमाईलो के हो ? सुख के हो बुझ्नुहोस् । दुःख के हो थाहा पाउनुहोस् । अनि राम्रोसँग सिक्नुहोस् । त्यसै हतार गरेर सवारी चलाउनु राम्रो होइन । यो लाइनलाई राम्रोसँग बुझेर मात्र आउनुहोस् । प्राविधिक लाईन हो । राम्रोसँग सिकेर जानेर आउनु भयो भने । एकदमै राम्रो छ । हैन भने त कुरा आफैं बुझिहाल्नु भयो । सजिलो कहिं पनि छैन । 
सल्लाह
सवारी बिग्रिनुको ५० प्रतिशत कारण सडक हो । अरु कारण भनेको हामी चालक, गाडीका स्टाफ वा मिस्त्रिलाई नै थाहा छैन अचेलको गाडीका बारेमा । पछिल्लो समयमा बनेका र बजारमा आएका अधिकांश गाडिहरु कि इलेक्ट्रिक कि हावाको माध्यमबाट चल्ने हुन्छन् । हाईड्रोलिक र ईलेक्ट्रिकल्स सिष्टमबाट बनेका गाडीको स्याहार सुसार कसरी गर्ने भनेर न हामीलाई थाहा छ न सल्लाह दिने मान्छे छन् । प्रविधि फेरियो तर सिप फेरिन सकेन । त्यसैले सामान्य समस्या आउँदा पनि थोरै बिज्ञ वा तालिम पाएका साथीहरु चाहिन्छ । अनि गाडी रोकेर सडकमा दिन बिताउनु पर्छ । गाडि बनाउने मिस्त्रिहरुलाई कुनै तालिमको सुबिधा छैन । सवारी चालकलाई पनि नयाँ मोडलको गाडि आउँदा तालिम बिना नै चलाउन लगाइन्छ । नयाँ गाडिको यस्तो समस्या हुन्छ यो बिग्रियो भने यसो गर्ने भन्ने कुरा जानकारी दिएको हुँदैन । बाटोमा हिड्दा केहि सानो समस्याले गाडि बिग्रियो भने पनि चालकले बनाउन सक्दैनन् अनि सबैठाउँमा ग्यारेज हुँदैनन् भएका ठाउँमा पनि सबैजानेका हुँदैनन् । त्यसतो अवस्थामा धेरै दिन ति बिग्रिएका गाडिहरु सडकमै रहन्छन् । यो चैं मेरो यातायात व्यवस्थापक, साहु, ट्राफिक प्रहरीलाई सल्लाह हो गाडी र प्रविधिसँगै हामीलाई पनि तालिम चाहियो ।  src-
Aradioaudio.com

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi