राजधानीभित्रै बसुन्धारामा यात्रुवाहक बस दुर्घटना
उपत्यका बाहिर दुर्घटनाका खबर आइरहेका बेला बुधबार राजधानी भित्रै यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौंको बसुन्धारामा यात्रुवाहक बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।
![]() |
| फाईल तस्बिर |
बुधबार दिउसो बा १ ख ९२८० नम्बरको बस बसुन्धरा चोकमा पुगेपछि एकाएक पल्टिएको हो । महाराजगन्जतर्फबाट गोंगबु बसपार्कतिर गइरहेको बस नियन्त्रण गुमाएर बीच सडकमै पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये ५ जनाको शिक्षण अस्पताल महाराजगञ्ज र ३ जनाको बिपी स्मृति अस्पताल बसुन्धारामै उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त महराजगन्जका प्रमुख डिएसपी गोविन्द पुरीले घाइते हुनेमा धरानका विनोद परियार र दिनेश परियार, नुवाकोटका देवराज न्यौपानेको अवस्था गम्भीर रहेको बताए । त्यसैगरी घाइते हुने अन्य यात्रुहरुमा धनगढीका मंगलसिंह ठकुरी, सिन्धुपाल्चोकका स्वाङ्वा तामाङ, सुनसरीका रवि परियार, धादिङका मोहनप्रसाद ढकाल र मोरङका सागर पोखरेल घाइते भएका छन्। मृतकको शव टिचिङ अस्पतालमा राखिएको छ। बस तीब्र गतिका कारण नियन्त्रणमा लिन नसकेर दुर्घटनामा परेको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शी बताएका छन् । प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा प्रहरीले चालकले पैदल यात्रुलाई जोगाउन खोज्दा बस दुर्घटनामा परेको हुनसक्ने प्रराम्भिक अनुमान गरेको छ । दुर्घटना लगत्तै बसका चालक फरार भएका छन् । प्रहरीले उनको खोजि भइरहेको जनाएको छ ।




