[ ]
Latest News Updates

ADVERTISE WITH US

यात्रुको ज्यान जाने दुर्घटना गराउँदा आजीवन सवारी चलाउन नपाउने / ऐन र नियमावली संशोधन गरिँदै
Sunday, August 28, 2016 Posted by Chitra Khabar

काठमाडौं १३ भदौ ।
काठमाडौं, १३ भदौ यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुर्घटना रोक्न यो व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहितका सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको प्रस्ताव मन्त्रालयमा पठाइसकेको छ ।
हाल ऐनको मस्यौदामा गृहकार्य गरिरहेको छ । ‘धेरै देशमा यात्रु तथा पैदलयात्रुको मृत्यु हुने गरी दुर्घटना गराएमा आजीवन लाइसेन्स खारेज हुने प्रावधान छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले पनि आजीवन लाइसेन्स खारेजको प्रस्ताव गरेका छौँ ।’
ऐन र नियमावली संशोधन गरिँदै
विभागले यातायातसम्बन्धी ऐन र नियमावली संशोधन गर्न लागेको छ । नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा बुझाइएको र ऐन संशोधनको मस्यौदामा छलफल भइरहेको महानिर्देशक श्रेष्ठले बताए । दुई साताअघि काभ्रेको बिर्तादेउरालीमा भएको बस दुर्घटनापछि मन्त्रालयले कानुन संशोधन गरेर कडाइ गर्न लागेको हो । रुट परमिट नलिई सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्नेलाई कडा कारबाही गर्न लागिएको छ ।
त्यस्तै, यात्रु बोक्ने सवारीले सामान बोकेमा तथा सामान बोक्ने सवारीसाधनले यात्रु बोकेमा पनि जरिवाना बढाइने महानिर्देशक श्रेष्ठले बताए । धेरैजसो दुर्घटना क्षमताभन्दा धेरै यात्रु बोक्दा हुने गरेको छ । आइतबार अर्घाखाँचीमा जिप पनि क्षमताभन्दा धेरै यात्रु बोकेकोमा दुर्घटनामा परेको थियो ।
यात्रु मारिए सवारीसाधनलाई तीन लाख जरिवाना
दुर्घटनामा यात्रु मारेमा त्यस्ता सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवानाको प्रस्तावसमेत गरिएको महानिर्देशक श्रेष्ठले बताए ।जरिवाना कम हुँदा दुर्घटना बढेको निष्कर्षसहित कडा नियम बनाउन लागिएको हो । विगतमा कडा नियम बने पनि कार्यान्वयनमा आएका छैनन् । व्यवसायीको दबाबमा ऐन–नियम कार्यान्वयन नहुने गरेको हो । कडा प्रावधानसहितको सवारीचालक अनुमतिपत्र निर्देशिका दुई वर्षअघि निर्माण भएकोमा मन्त्रिपरिषद्ले पारित गरेर पनि उक्त निर्देशिका कार्यान्वयन गरिएन । व्यवसायीको दबाबमा राजपत्रमा निर्देशिका प्रकाशित नगरी रद्द गराइएको थियो । यसपटक दुर्घटना बढेपछि मन्त्रालयका कर्मचारी ताते पनि पछि व्यवसायीको दबाबमा झुक्न सक्ने ट्राफिक प्रहरीको आशंका छ । –
नयाँपत्रिकाबाट

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi