पृथ्वी राजमार्गमा नक्कली लाइसेन्स वालाको बिगबिगी / लाइसेन्स बनाउन सक्रिय दुई अभियुक्त पक्राउ
तनहुँ प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने एक समूहलाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत कोत्रेमा जाँचका क्रममा शंका लागेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नक्कली लाइसेन्स बनाउन सक्रिय दुई अभियुक्त र तीन प्रयोगकर्तालाई पक्राउ गर्न सफल भएको हाे ।
पक्राउ पर्नेमा बन्दिपुर नगरपालिका २ का प्रेम गुरुङ, देउरालीका धनप्रसाद गुरुङ रहेको प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए । प्रेमले नक्कली लाइसेन्सको भरमा ट्रक चलाउँदै आएका थिए । उनको लाइसेन्सको पिछा गर्दै प्रहरी पोखरास्थित मुनाल ड्राइभिङ इन्स्टिच्यूटका सञ्चालक विनोद खड्काबाट खरिद गरेको पत्ता लाग्यो । त्यसपछि नयाँ बजारस्थित दीपशिना प्रिन्टर्सबाट ५ हजार रुपैयाँमा नक्कली लाइसेन्स बिक्री गरेको खुल्न गएको प्रहरीले जनाएको छ । याे रुटमा अझै ठूलाे संख्यामा नक्कली लाइसेन्सवाला चालकहरु रहेकाे प्रहरीकाे अनुमान छ ।




