[ ]
Latest News Updates

ADVERTISE WITH US

सुविधासम्पन्न बन्दै गोङ्गबुको नयाँ बसपार्क,अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी
Wednesday, September 14, 2016 Posted by Chitra Khabar

काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्कको काम द्रुतगतिमा अघि बढेको छ ।  आमागी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको निर्माणको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कार्यकारी अध्यक्ष दीपक कुँवरले जानकारी दिए ।  बसपार्कलाई व्यवस्थित र आधुनिक पूर्वाधारसम्पन्न बनाउने उद्देश्यअनुरुप अहिले वरिपरिका टहरा हटाएर भौतिक पूर्वाधार निर्माणका काम भइरहेको अध्यक्ष कुँवरले बताए । कुँवरका अनुसार हाल फोहोर व्यवस्थापन, टिकट काउन्टर व्यवस्थापनको कामसँगै टहरा विस्थापन गरिएको स्थानमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने तयारीको काम भइरहेको छ ।  प्रालिले विसं २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि २०७१ साउन २५ गते काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौतासमेत भइसकेको छ ।    अन्तर्राष्ट्रियस्तरको बन्ने भएसँगै काठमाडौँ महानगरपालिकालाई प्रालिले तिर्नुपर्ने शुल्कमा समेत वृद्धि गरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार ल्होत्सेले यसअघि वार्षिक रु ५१ लाख तिर्दै आएकोमा अब भने कामपालाई रु ९८ लाख तिर्नुपर्नेछ ।  बाहिरी जिल्लाबाट एक दिनका लागि काठमाडौँमा आउनेले एक दिनका लागि पनि अहिले गेस्ट हाउसको कोठा भाडामा लिनुपर्ने बाध्यता रहेकाले त्यो बाध्यतालाई हटाउन लकरको व्यवस्थासमेत गर्न लागिएको छ । उक्त लकर प्रयोग गरेबापत न्यून शुल्क तिर्नुपर्ने हुन्छ ।   बसपार्क निर्माण भएसँगै निःशुल्क बस्ने सुविधा, शौचालयको सुविधा र पानीको सुविधासँगै हेल्प तथा इन्फरमेसन डेस्कबाट सुविधा लिन सकिनेछ । कम्पनीले बैकिङ सुविधा दिने उद्देश्यका साथ बैंकको शाखासहित एटिएम लाउन्जसमेत निर्माण गर्ने जानकारी दिएको छ ।  सम्झौताअनुसार अबको ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सबै भौतिक संरचना काठमाडौँ महानगरको हुनेछ । बसपार्कमा सुुरक्षा संयन्त्र बलियो बनाउन सिसिटिभी जडान तथा प्रहरी पोस्टका लािग समेत भवन निर्माण गर्ने ल्होत्सेको योजना छ ।  त्यस्तै, नयाँ बसपार्कको कम्पाउन्डमा सुविधासम्पन्न होटलसमेत निर्माण गर्ने कम्पनीको योजना छ । यस्ता होटल सुविधासम्पन्न र सस्तो हुने कुँवरको भनाइ छ । बसपार्कमा मानिसको चहलपहल हुने भएकाले विद्युत् प्राधिकरणसँग सम्झौता गरी चौविसै घन्टा विद्युत् सुविधासमेत दिइनेछ ।  


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi