ट्राफिक कारबाहीमा सरकारी गाडी धमाधम
विदाको समयमा अनुमति नलिई सवारी चलाएको भन्दै जिल्ला विकास समिति कपिलवस्तुको गाडी ट्राफिक कारबाहीमा परेको छ। पोखराबाट कपिलवस्तु फर्कदै गरेको जिल्ला विकास समितीको लु १ झ ३१७ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा शनिबार बिहान वालिङ्को भकुण्डेमा जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको कारबाहीमा परेको हो।
विदाको समयमा सरकारी कार्यालयको सवारीसाधन प्रयोग गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति चाहिन्छ। तर उक्त गाडी प्रमुख जिल्ला अधिकारीको अनुमति बिना चलाएको पाईएपछि ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको जनाएको छ।
चेकिङका क्रममा चालकले जिविसले दिएको भ्रमण आदेश मात्र रहेको पत्र देखाएका थिए। जिविसले दिएको भ्रमण आदेशमा भ्रमण गर्ने मिति २०७३ असोज १८ बाट सुरु भएको उल्लेख छ। कुन मितिसम्म भ्रमण गर्ने भन्ने मिति भने पत्रमा खाली छ।
चेकिङमा खटिएका ट्राफिक प्रहरीले आफू माथिका अधिकृतलाई सोबारे जानकारी दिएपछि गाडीलाइ प्रहरी कार्यालयमा राख्न निर्देशन दिएका थिए। सोहीअनुरुप उक्त गाडी वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ। दसैं नजिकिदैं गर्दा स्याङ्जा ट्राफिकले जांचलाई तीव्र बनाएको जनाएको छ। आवश्यक सोधपुछ पछि नियमानुसार जरिवाना गरी गाडी छाडिने ट्राफिक प्रहरीले जनाएको छ। ननस्टपखबर




