[ ]
Latest News Updates

ADVERTISE WITH US

२२ लाख यात्रु राजधानीबाट दसैका लागि बाहिरिए
Monday, October 10, 2016 Posted by Chitra Khabar

दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट शनिबारसम्म २२ लाख यात्रु बाहिरिएका छन् ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताए ।

उनका अनुसार आजमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।
 महासचिव सिटौलाले तीन दिनको अवधिमा आजसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दसैँभन्दा यो पटक यात्रु सहज तरिकाले गन्तव्यमा पुगेकोे दाबी गरे ।
दसैँलाई लक्षित गरी अहिले साना ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहजरुपमा जानसक्ने व्यवस्था गरेको छ । नयाँ गाडी नथपिए पनि देशभरका सबै गाडी राजधानी उतारी यहाँबाट यात्रु लगिएको व्यवसायीले बताएका छन् ।

दसैँको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासचिव सिटौलाको भनाइ छ ।

उपत्यकामा आज सवारी आवतजावत सामान्य रहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi