[ ]
Latest News Updates

ADVERTISE WITH US

जनकपुर–जयनगर रेल्वेका अमूल्य सामग्री जीर्ण बन्दै
Saturday, November 19, 2016 Posted by Chitra Khabar

धनुषा, ४ मंसिर- नेपालको एक मात्र रेल सेवा जनकपुर जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रममा बन्द भएको करिब तीन वर्ष पूरा हुन लागेको छ ।
फाईल तस्बिर 

तर नेपाल रेल्वेसँग अहिले रहेको रेल्वेका सामग्रीको संरक्षणमा सम्बन्धित पक्षले ध्यान नदिँदा जीर्ण बन्दै गएको छ ।
संसारमा नै कही नभएको न्यारोगेजका– पाँचवटा कोइला इन्जिनलाई सरकारको नेपाल रेल्वे कम्पनीले संरक्षण गर्न नसक्दा ती इन्जिन कबाडीमा जाने अवस्थामा परिणत हुन लागेका छन् ।
नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १८ जना कर्मचारी खटाए पनि उनीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपुर्जादेखि कारखानामा रहेका अन्य सामग्री समेत चोरी हुन थालेको छ ।
जनकपुरबाट करिब १५ किलोमिटरको दुरीमा रहेको वैदेही स्टेसनस्थित नेपाल रेल्वेको कारखानामा थन्काइएका रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरको नामले चिनिने ती इन्जिनलाई संरक्षण गरिए त्यसवाट पर्यटकीय फाइदा लिनसक्ने अवस्था रहे पनि त्यस तर्फ ध्यान नदिनु दुर्भाग्यपूर्ण रहेको जनकपुरवासीको भनाइ छ ।
संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी विज्ञानका शिक्षक उपेन्द्र ठाकुर बताउछन् ।
वैदेही स्टेसनमा म्युजियमको निर्माण गरेर कोइला इन्जिनलाई संरक्षण गरिए ठूलै मात्रामा पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।
सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नाति २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् ।
त्यति बेला एउटा इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत उनले गरेका थिए । आफनो कम्पनीमा म्युजियममा राख्ने उद्देश्यले उनले प्रस्ताव गरे पनि नेपाल सरकारले अस्वीकार गरेबाट समेत ती इन्जिन अमूल्य रहेको प्रमाणित हुन्छ ।
त्यस बेला तत्कालीन सरकारले आफै म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो ।
तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माण सम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन् ।
संरक्षणका लागि खटाइएका १८ जनामध्ये कारखानामा एकजना पनि नभेटेपछि नेपाल रेल्वे तथा मेट्रो विभागका इन्जिनियर एवम् जनकपुर साइट कार्यालयका प्रमुख विनोद ओझासँग सम्पर्क गर्दा संरक्षणको काम आफूहरुको जिम्मा नरहेको बताए ।
प्रमुख झाले भने, ‘संरक्षणको लागि नेपाल रेल्वे कम्पनीले १८ जना कर्मचारी खटाएको र हाम्रो काम त निर्माणाधिन परियोजनाको रेखदेख मात्र रहेको छ ।’पर्यटकीय तथा धार्मिक नगरीको रुपमा स्थापित जनकपुरधाम वा आसपासको क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनका म्युजियम निर्माण गरिए जनकपुरको पर्यटकीय विकास थप टेवा पुग्ने प्रायः निश्चित छ । यसतर्फ सरोकारवालाले अविलम्ब ध्यान दिनुपर्ने आवश्यकता रहेको प्रेस युनियन धनुषाका अध्यक्ष शैलेन्द्र झाले बताए । रासस 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi