पुरानाे किन्न खाेज्दा निगमलार्इ नयाँ एयरबस चिठ्ठा पर्याे
काठमाडाैं । राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नेपाल वायुसेवा निगमले पुरानाे वाइडवडी जहाज खरिद गर्न थालेकाे प्रयासमा नयाँ जहाज पाउने चिठ्ठा परेकाे छ । निगमले पुरानाे खरिद गर्न थालेकै मुल्यमा नयाँ जहाज पाउन थालेकाे हाे । त्याे पनि अाउँदाे बैशाख अगाडि नै त्याे विमाज काठमाडाैं अाइपुग्ने भएकाे छ । यसअघि निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको थियो । तर, अमेरिकाकाे एएआर कम्पनीले साेही टेन्डरमा विड गर्दै अाफूले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव पठाएकाे थियाे । यसरी एएअारले सबैभन्दा अाकर्षक प्रस्ताव पठाएपछि निगम सञ्चालक समितिले साेही जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएकाे छ ।
निगमको प्राविधिक समितिले सञ्चालक समिति समक्ष एएआर कर्पोरेसनसँग जहाज खरिद गर्न सिफारिस समेत गरिसकेको छ । वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खालेकोे टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । जसमध्ये एएआरले सबैभन्दा सस्तोमा नयाँ विमान उपलब्ध गराउने प्रस्ताव ल्याएको वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले अनलाइनखबरलाई जानकारी दिए । कंसकारले भने ‘हामीले एक हजार घन्टासम्म उडेको भएपनि मान्य हुने भनेका थियौ तर, एएआर कम्पनीले नयाँ जहाज सस्तोमा उपलब्ध गराउने प्रस्ताव ल्याएको छ ।’ उनका अनुसार पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायु निगमलाई बेच्न लागेको छ । वायु निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो । र, सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक लगायत संस्थाले २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ । एएआरले भने करिव ११ अर्ब २८ करोडमा नै जहाज उपलब्ध गराउने प्रस्ताव पेश गरेको छ । र, चैतभित्र विमान उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कम्पनीका अनुसार विमान एयरबसको फ्याक्ट्रीमै छ ।




