[ ]
Latest News Updates

ADVERTISE WITH US

श्रीनगरमा विमानस्थलका लागि सम्भाव्यताको खोजी
Sunday, February 19, 2017 Posted by Chitra Khabar

पाल्पा
वर्षाैं पहिलेदेखि पाल्पालीले प्रतीक्षा गरिरहेको पाल्पामा विमानस्थलको मागको सम्बोधन गर्दै यहाँ सम्भाव्य अध्ययनको खोजी शुरू भएको छ।
तानसेनको शिर अर्थात् श्रीनगरमा प्रारम्भिक सम्भाव्यताका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत मीनराज ओझाको नेतृत्वमा आधा दर्जन प्राविधिक आई यहाँको सम्भाव्यता अध्ययन गरेका छन्। प्राविधिक टोलीले शुक्रबार दिनभर नाप नक्साका साथै स्थलगत निरीक्षण गरेका थिए।
पाल्पामा विमानस्थलको अत्यावश्यक रहेको अवस्थामा श्रीनगरमा विमानस्थलको सम्भाव्य अध्यायनको काम शुक्रबारदेखि शुरू भएको पाल्पा क्षेत्र नं ३ का सांसद् हरिप्रसाद नेपालले जानकारी दिए। सांसद् नेपालको पहलमा श्रीनगरडाँडामा विमानस्थल निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययनको काम शुरू भएको हो।
सो अवसरमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, प्रहरी निरीक्षक हरिराज वाग्ले, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष मधुदयाल सैजु तथा सञ्चारकर्मीहरू श्रीनगरडाँडामा उपस्थित थिए। प्राविधिक रूपमा उपयुक्त भए अगामी वर्षदेखि नै विमानस्थल निर्माणको काम थालिने सांसद नेपालले जानकारी दिए। यसअघि जिल्लाका विभिन्न ठाउँहरूमा पनि विमानस्थल निर्माण गर्न सकिने भन्दै सामान्य रूपमा अध्ययन हुने गरेको थियो।
श्रीनगरमा विमानस्थलको सम्भाव्यता अध्ययन शुरू भए पनि कतिपयले पाल्पाको ऐतिहासिक र मनोरम तथा पर्यटकीय स्थलका रूपमा परिचित श्रीनगरलाई पर्यटकीय स्थलकै रूपमा विकसित गरिनुपर्ने माग गरेका छन्। यसअघि श्रीनगरमा गल्फ मैदान, पानी पोखरी र तानसेनको खानेपानी समस्या समाधानका लागि बोरिङको पनि अध्ययन भएको थियो। पानी पोखरी त लाखौं खर्च गरी बनाइएको पनि हो तर प्राविधिक समस्याले गर्दा वर्षात्को पानी संकलन गर्ने गरी बनाइएको यो योजनामा गरिएको लगानी त्यसै खेर गयो। दृश्यावलोकन र हिम शृंखला अवलोकनका साथै पिकनिक र फिल्म सुटिङका लागि पनि यो ठाउँ उपयुक्त छ।
पाल्पालीले विमान चढ्नका लागि भैरहवा जानुपर्ने बाध्यता भोगिरहेका छन्। पाल्पामै विमानस्थल निर्माण हुन सके यात्रका लागि सहज हुने पाल्पालीको विश्वास छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi