[ ]
Latest News Updates

ADVERTISE WITH US

डिलक्स बसमा अझ लगानी बढाउँछौं : केशवप्रसाद अधिकारी
Monday, February 6, 2017 Posted by Chitra Khabar

केशवप्रसाद अधिकारी
सञ्चालक : पोखरा जगदम्बा ट्राभल्स प्रालि
संरक्षक : पृथ्वी राजमार्ग बस सञ्चालक समिति
पोखरा जगदम्बा ट्राभल्स प्रालिले नेपालका विभिन्न रुटहरुमा करिब १ सय ५० वटा सुविधा सम्पन्न बस सञ्चालन गरिरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका संरक्षक समेत रहेका पोखरा जगदम्बाका सञ्चालक
केशवप्रसाद अधिकारी ले मिनिबार सहित सुविधा सहितको एसियाकै उत्कृष्ट बस सञ्चालनमा ल्याइसकेका छन् । ट्वाइलेट तथा मिनीबार सहितको रात्रीबस समेत सञ्चालन गर्न सफल अधिकारीसँग समितिका गतिविधि, डिलक्स बसमा पोखरा जगदम्बाले गरेका लगानी लगायत विविध विषयमा गरिएको कुराकानीको सार :
पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग कसरी जोडिनुभयो ?
२०४८ सालबाट हामीले पृथ्वी राजमार्ग अन्तर्रगत सवारी संचालन सुरु गरेका हौं । शुरुवातको समयमा मेरो बुवा यसमा संलग्न हुनुहुन्थ्यो । कार्यकारिणी सदस्य र कोषाध्यक्ष भएर करिब ५०÷६० लाख रुपैयाँको कोष जम्मा गरेर संस्थालाई माथि उकास्ने काममा उहाँको महत्वपूर्ण भुमिका छ । उहाँले संस्था छाडेपछि हामी व्यवसायतर्फ लाग्यौं । व्यवसाय राम्रो हुँदै गयो । लगानी गर्दै जादा संस्थासँग नजिक हुन थालेँ । केही समय पछि संस्थामा भ्रष्टाचार भयो भन्ने कुराहरु आए । छानविन गरियो । त्यसपछि संस्थालाई एउटा बाटोमा ल्यायौं । ऐन कुमार साईको अध्यक्षतामा एउता कमिटी चयन भयो । सबैको मेहनतले संस्था राम्रो बन्यो । अहिले आर्थिक रुपमा संस्था सवल बनेको छ । सस्थालाई कसरी अझै बलियो बनाउने तथा व्यवसायको संरक्षण कसरी गर्ने भन्ने विषयमा हामी लागिरहेका छौं ।
जगदम्बा समूहबाट सुविधा सम्पन्न बसहरुमा लगानी भइरहेको छ । लगानीका लागि कसरी आकर्षित हुनुभयो ?
व्यवसाय बिस्तार गर्ने क्रममा यात्रुलाई सहज होस भनेर हामीले विभिन्न सुविधा सम्पन्न सवारी सञ्चालन गरेका छौं । जुन एसियामा नै उत्कृष्ट भएको छ । हामी सफल भएका छौ र लगानी पनि खेर गएको छैन । नेपाल तथा विदेशमा पनि नेपालमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिले उत्कृष्ट बस संचालन गरेको छ भन्ने खालका प्रचार प्रसार भएको छ । आगामी दिनमा पनि सुविधा सम्पन्न बसमा लगानी बढाउनेछु ।
जगदम्बा अन्तर्गत कतिवटा सवारी सञ्चालनमा छन् ?
करिब १ सय ५० सवारी हामीले सञ्चालन गरेका छौं र सबै समितिमा आवद्ध छन् । संस्थालाई संरक्षण गर्नुपर्छ भनेर हामीले त्यसै अनुसार काम पनि गरिरहेका छौं । यात्रु तथा उपभोक्ताको माग अनुसार नै हामी सेवा बिस्तार गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं । काठमाडौं, पोखरा तथा देशका विभिन्न भागमा हामीले सवारी संचालन गरेका छौं । यात्रुको सेवाको लागि भनेर दिवा तथा रात्री समयमा नै हामीले सवारी संचालन गर्दछौं । वातावरण सहज भएमा पोखरादेखि भारतको पटनासम्म पनि सवारी संचालन गर्ने लक्ष्य हामीले लिएका छौं । भारतका अन्य उच्च तहका शहरलाई पनि पोखरासंग जोड्नुपर्छ भनेर हामी लागिरहेका छौं । अहिले पृथ्वी अन्तर्गत नै पोखराबाट दिल्लीसम्म बस सञ्चालन भइरहेको छ ।
सार्वजनिक यातायात बाहेक कुनकुन व्यवसायमा आबद्ध हुनुहुन्छ ?
जगदम्वा ट्राभल्स मार्फत सञ्चालन भएका सवारी साधन पृथ्वी राजमार्गमा आवद्ध भएर चलेका छन् । हामीले सञ्चालन गरेका सवारीले सबैको मन जित्न सफल भएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिको मात्र नभई यातायात महासंघको लागि नै गौरवको विषय बनेका छन् हामीले संचालन गरेका सवारी साधन । अझै उत्कृष्ट सवारी साधन संचालन गर्ने लक्ष्य हामीले लिएका छौं । जगदम्वा अटोमार्ट पनि हामीले संचालन गरेका छौं । पश्चिमाञ्चल क्षेत्रभित्रका सिप्रदीमा जानेहरुले डाउन पेमेन्ट र नगद पैसा लिएर जाने गरेका छन् । हामीले उधारो रुपमा पनि सवारी बेचेर सहयोग गरिरहेका छौं । हामी टाटा गाडीको आधिकारिक बिक्रेता हौं । युनिक बडी बिल्डर्स भनेर हामीले संचालनमा ल्याएका छौ जहाँ उच्च तहका सवारी साधन बनाउन सुरु गरेका छौं । यसभन्दा पहिले उच्च तहका सवारी दिल्लीमा मात्र बन्ने गर्दथे । अब राम्रा सवारी साधन निर्माणको लागि दिल्ली तथा मुम्बई जानुपर्छ भन्ने छैन । जसले व्यवसायीलाई सहयोग पुग्नेछ । हामीले संचालन गरेका सबै व्यवसायबाट संस्थालाई सहयोग पुग्छ भन्ने हामीलाई लागेको छ । टाटा शो रुमबाट पुराना सवारी मर्मत तथा नयाँ सवारी बिक्री तथा साटफेर पनि गरिन्छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिको बर्तमान नेतृत्वलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
संस्थामा पहिला भएका नराम्रा गतिविधी तथा भ्रष्टचार अहिले हुँदैनन् । अहिले व्यवसायीले पाउने राहत तथा दुर्घटनामा परेका व्यक्तिले पाउने सुविधा पाइरहेका छन् । संस्थाको उच्च निगरानी हामीले गरिरहेका छौं । सवारी दर्तालाई हामीले खुला राखेका छौं । जसले सवारी साधन सञ्चालन गर्न चाहने व्यवसायीलाईलाई सहज भएको छ । अहिले निकै राम्रो टिमले संस्था हाकिरहेको छ । संस्था सफल बनाउनको लागि हामीले सहयोग गरिरहेका छौं । विभिन्न कारण तथा नकारात्मक गतिविधिले घाटामा गएको संस्थालाई हामीले नाफामा पु¥याएका छांै जसको लागि हामीले धेरै संघर्ष ग¥यौं । हिनामिना भएको पैसालाई फिर्ता गराउन हामी सफल भयौं । ऋणमा डुबेको संस्था अहिले आर्थिक रुपमा सवल बनेको छ । संस्थालाई बिगार्ने तथा नकारात्मक प्रचारप्रसार गर्ने काम पनि समय समयमा हुने गरेका छन् । तर हामीले त्यसलाई गलत सावित गर्न सफल भएका छौं ।
डिलक्स बसमा नै लगानी किन ?
सरकारले डिलक्स भनेर तोकेको मापदण्डमा म सन्तुष्ट छैन । सरकारले तोकेको तथा सञ्चालन गरेको सुपर डिलक्स भन्दा धेरै स्तरीय सवारी हामीले सञ्चालन गरेका छौं । यात्रुको आवश्यकतालाई ध्यानमा राखेर नै हामीले सुपर डिलक्स सवारी सञ्चालन गरेका हौं । धेरै पैसा तिरेर भएपनि आनन्ददायी यात्रा गर्न पाइयोस भन्ने यात्रुको चाहना अनुसार सुपर डिलक्स बस सञ्चालन गरेका हौं । यी भन्दा अझै स्तरीय सवारी संचालन गर्ने लक्ष्य हामीले लिएका छौं ।
यातायात व्यवस्थित गर्न सरकारको भूमिका कस्तो छ ?
राज्यसँग हामी सन्तुष्ट छैनौं । सरकारी तवरबाट सडकको स्तरवृद्धिको लागि खासै पहल भएको छैन । शुरु गरेका काम पनि अलपत्र अवस्थामा छन् । हामीले लगानीलाई जोखिममा राखेर सेवा प्रदान गरिरहेका छौं । सरकारले काम गर्छ भन्नेमा हामी आशावादी छैनौं । नेपालमा यस्तो सवारी साधन पनि सञ्चालनमा छन् भन्ने कुराको जानकारी मात्र सरकारले राखेपनि हामी खुसी हुन्छौ । सार्वजनिक सवारी साधनमा सरकारले लगानी गर्नुपर्ने हो तर निजी क्षेत्रले गरेको लगानी संरक्षणको लागि पनि कुनै पहल गरेको छैन । सरकारले सहयोग गर्ने हो भने व्यवसायीहरु उत्साही भएर यस क्षेत्रमा लगानी गर्नेछन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi