लोकल बसमा यात्रागर्दा ध्यानदिनुपर्ने ६ कुराहरु
सीताराम हाछेथु ट्राफिक प्रहरी प्रमुख, ललितपुर
लोकल बसमा यात्रा गर्नेलाई हरेक दिन समस्या नै समस्या छ । यात्रुका गुनासा बग्रेल्ती सुनिन्छन् । यस्ता समस्या कतिपय गाडीचालक र सहचालकका कारण हुने गरेका छन् भने कतिपय यात्रुकै कारण । यात्रु आफ्नै कमीकमजोरीले दुर्घटना निम्तिन पनि सक्छ । लोकल बसमा यात्रा गर्नेलाई ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका टिप्स यस्ता छन् :
१. लोकल बसमा निकै भीडभाड भएको देखिन्छ । अफिस समयमा यो भीडभाड बढी हुन्छ । यस्तो अवस्थामा बस्ने सिट छैन र उभिनुपर्ने भयो भने डन्डीमा समात्नुहोस् । यो वेला फोनमा कुरा नगर्नुहोस् । हात छोडेर फोनमा कुरा गर्न थाल्दा बसको चालकसँग शारीरिक मोसनमा गडबडी भएर हुत्तिने र चोटपटक लाग्ने खतरा हुन्छ । चढ्दा र झर्दा पनि गाडी पूरा रोकिएपछि या रोक्न लगाएर मात्रै अगाडि बढ्नुहोस् ।
२. प्रायः लोकल बसमा ड्राइभर सिटमा निकै भीडभाड भएको देखिन्छ । कतिपय गाडीमा ड्राइभर सिटनजिक दुईजना मात्रै राख्न पाइनेमा तीनजनासम्म राख्ने गरेको देखिन्छ । यात्रुको गोडा गेयरनजिक राखिएको हुन्छ । यो परिस्थितिमा कहिलेकाहीँ अकस्मात् गेयर चेन्ज गर्नुपर्दा समस्या हुन सक्छ र दुर्घटना निम्तिन सक्छ । यसकारण यो सवालमा यात्रु नै चनाखो हुनुपर्छ ।
३. साँझपख काठमाडौंका सबै रुटका गाडीहरू निकै भीडभाड हुन्छ । यात्रु खचाखच हुन्छन् । खचाखच हुँदाहुँदै पनि चढ्नुपर्ने बाध्यता हुन्छ । यही मौकामा चोरहरू सल्बलाउँछन् । पाकेट मार्ने, मोबाइल चोरी हुने खतरा रहन्छ । यो वेला आफ्नो सामानको सुरक्षामा आफैँ सचेत हुनुपर्छ ।
४. समस्या गाडी र यात्रुबीच मात्रै छैन । यात्रुहरू पनि एक–आपसमा विवाद गरिरहेको पाइन्छ । गाडीमा तोकिएको सिटअनुसार नबस्नु समस्याको रूपमा देखिने गरेको छ । यात्राका क्रममा अशक्त व्यक्तिलाई सबैले सहयोग गर्नुपर्छ । महिला सिटसहित अरू सबै सिट भरिएको छ, तर एउटी बूढी आमै गाडी चढिन् भने एउटी शक्त महिलाले पनि आफ्नो सिट अशक्त बूढी आमैलाई दिन सक्नुपर्छ ।
५. रात परिसकेको छ र यात्रा गर्नुपर्ने छ भने सचेत हुनुहोस् । कोही पनि यात्रु नभएको खाली गाडीमा यात्रा नगर्नुहोस् । यसमा महिला बढी चनाखो हुनुपर्छ । यस्तो अवस्थामा लुटपाट हुने गरेको धेरै घटना छन् ।
६. लोकल बसमा भाडाको समस्या निकै ठूलो देखिन्छ । उही दूरीमा पनि गाडीपिच्छे फरक भाडा असुलिरहेको पाइन्छ । भाडामा आफू लुटिएको महसुस भएमा सीधा झगडामा नउत्रिनुहोस् । यसले आफैँलाई घाटा गर्न सक्छ । यस्तो वेला कानुनी बाटो अपनाउनुहोस् । गाडीको नम्बर ख्याल गर्नुहोस् र ट्राफ्रिक प्रहरीमा उजुरी गर्नुहोस् । सम्बन्धित निकायबाटै कारबाही हुन्छ ।




