[ ]
Latest News Updates

ADVERTISE WITH US

नारायण्गढ–मुग्लिन सडक छ घन्टा रोकिने
Tuesday, March 21, 2017 Posted by Chitra Khabar

वर्षात्को समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म छ घन्टा रोकिने भएको छ । तस्बिर : नारायण अधिकारी, चितवन, रासस
चितवन, ८ चैत । वर्षात्को समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ ।

हाल बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सडक आवागमन छ घन्टा रोकेर काम थालेपछि चार घन्टा काम गर्न पाइने छ ।

स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै भित्तो काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको खनालले बताउनुभयो । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी आवागमन गर्छन् ।

प्रजिअ नारायणप्रसाद भट्टले वर्षात्का समयमा थप समस्या नआओस् भन्नाका लागि जेठ १५ गतेभित्र मुख्य संरचनाका काम सम्पन्न गर्न दैनिक छ घन्टा आवागमन रोकेर काम गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार वर्षात्अघि काम नभ्याएमा निकै ठूलो समस्या आउने बताउँदै उहाँले ठेकेदार कम्पनीले उपकरण र जनशक्ति थप गरी कामलाई तीव्रता दिने छ ।

पहिलो सम्झौतानुसार आउँदो वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकामा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ ।

सो सडकको आँपटारीदेखि दासढुङ्गासम्म भारतीय ‘बिएलए’ तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय ‘उड हिल’ तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको ‘सुप्रिम’ र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । उनीहरुले पहिलो खण्डमा ३५ प्रतिशत, दोस्रो खण्डमा ५० प्रतिशत र तेस्रो खण्डमा ३७ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

पहिलो खण्डमा भित्तो काट्ने काम छैन भने दोस्रो र तेस्रो खण्डमा भित्तो काट्नुपर्ने जटिल काम छ । इ खनालका अनुसार दोस्रो खण्डको घुमाउनेमा एक सय मि र १६ किलोमा चार सय मि भित्तो काट्नुपर्ने हुन्छ भने तेस्रो खण्डको जलवीरेमा दुई सय मि र चेपाङ डाँडोमा पाँच सय मि भित्तो काट्नुपर्ने हुन्छ ।

पचपन्न मिसम्म अग्लो चट्टानी पहाड काट्नुपर्ने हुन्छ । सो क्षेत्रमा सडकको चौडाइ पाँच दशमलव पाँच मि मात्रै छ । भित्तो काटेर नौ मि फराकिलो बनाउनुपर्ने हुन्छ ।

कामलाई तीव्रता दिन उपकरण र जनशक्ति थप गरिएको छ । एक्साभेटर मात्रै २४ वटा प्रयोग भएको खनालले जानकारी दिनुभयो । पहिलो खण्डमा आउँदो हप्तादेखि र दोस्रो खण्डमा चैतको अन्तिम सातादेखि कालोपत्रे सुरु हुने छ ।
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियाली राजमार्गअन्तर्गतको एएच४टु खण्डमा नारायणगढ– मुग्लिन सडकखण्ड पर्छ ।

नेपालको कोदारी हुँदै चीन तथा काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन,नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने सो सडक एसियाली राजमार्गको एक खण्ड हो । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi