[ ]
Latest News Updates

ADVERTISE WITH US

निगम भन्छ "इन्धन पर्याप्त छ, नआत्तिनुस"
Friday, March 10, 2017 Posted by Chitra Khabar


काठमाडौं,
तराई बन्दका कारण बुधबार दिउँसो रक्सौलबाट इन्धन भित्रिन नपाएपछि बिहीबार राजधानीका पेट्रोल पम्पमा आंशिक प्रभाव परेको छ। निजी पम्पहरूले तेल सकिएको भन्दै बिहानैदेखि वितरण नगरेपछि त्यसको प्रत्यक्ष असर सरकारी पम्पहरूमा देखिएको छ। बन्दले आयात र ढुवानीमा प्रभाव पारेपछि उपत्यकाको वितरणमा पनि समस्या देखिएको हो। निगमले बन्दका कारण अहिले रातको समयमा इन्धन ढुवानी भइरहेको जानकारी दिएको छ।
निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार बुधबार रक्सौलबाट भित्रिएको ८ सय किलोलिटर इन्धन बिहीबार दिउँसो ढिलो गरी उपत्यका भित्रिएको छ।
थानकोट डिपोबाट पम्पलाई वितरण गर्न केही समय लागेकाले छोटो समयका लागि अभाव देखिएको पोखरेलले बताउनुभयो। उहाँका अनुसार ‘बुधबार दिउँसो रक्सौलबाट इन्धन भित्रिन पाएको थिएन। तर, रातको समयमा स्कर्टिङमार्फत् ल्याइएको इन्धन बिहीबार ढिलो गरी उपत्यका भित्रिएपछि वितरणमा केही ढिलाइ भएको हो।’
त्यस्तै बिहीबार दैनिक मागभन्दा भण्डै दुई गुणा बढी इन्धन बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। उपत्यकाको सामान्य अवस्थामा क्रमशः पेट्रोलको माग दैनिक ४ सयदेखि ४ सय ५० किलोलिटर रहेको छ भने डिजेलको ४ सय ५० देखि ६ सय किलोलिटर रहेको छ। तर, बिहीबार भने औसत माग ८ सय किलोलिटर पुगेको प्रवक्ता सापकोटाले बताउनुभयो।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ लोड भएका ट्यांक, ट्रक, तथा एलपी ग्यास रक्सौल र बरौनी नाकाबाट लोड भएर राती सहज रूपमा फर्केको निगमले जनाएको छ। निगमका प्रवक्ता पोखरेलले नेपाल समाचारपत्रसँग कुरा गदै भन्नुभयो–‘बिहीबार डिपोबाट पम्पसम्म आन्तरिक ढुवानीमा ढिलो भएको थियो। पेट्रोल पम्पमा तेल उड्ने भन्दै व्यवसायीहरू धेरै स्टक राख्न मान्दैनन्। र माग अनुरूप आपूर्ति भईरहेकाले संयम रहन हामी सर्वसाधारणमा अपिल गर्दछौं।’
नेपाल आयल निगमले भारतबाट मात्र नभई तेस्रो मुलकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ। भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगम (एनओसी)बीच इन्धन खरिद सम्झौता नवीकरण गर्ने विषयमा छलफलपछि नेपालले यो अधिकार पाएको हो।
आइओसीले माग अनुसारको तेल उपलब्ध गराउन नसकेको अवस्थामा नेपालले तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने सक्नेछ। यसअघि नेपालले आईओसीसँग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो। त्यस्तै नेपालमा युरो ४ मापदण्डको इन्धन आयात गर्दा आयातित कच्चा तेललाई प्युरिफाई भने एनओसीले नै गर्नेछ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi