साझा बसले भक्तपुरमा पनि आफ्नो सेवा विस्तार गर्नेगरी रुट पर्मिटको लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ। साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले भक्तपुरका स्थानीयको मागलाई ध्यानमा राख्दै रुट पर्मिटका लागि विभागलाई पत्र पठाइएको जानकारी दिए।
दैनिक दस वटा बसले भक्तपुरलाई काठमाडौंको नाका कलंकीसम्म जोड्नेगरी साझाले विभागसँग रुट पर्मिट माग गरेको हो। कलंकी, त्रिपुरेश्वर, सुन्धारा, बानेश्वर, कोटेश्वर, जडिबुटी, सल्लाघारी, व्यासी कमलविनायक, जगाति, सुर्यविनायकसम्म पुग्नेगरी साझाले रुट पर्मिट मागेको छ।
हाल कायम रहेको रुट कोटेश्वर, बानेश्वर, शहीदगेट, त्रिपुरेश्वर, कलंकी, स्वयम्भूलाई नै केही लामो बनाएर साझाले भक्तपुरमा सेवा सुरु गर्ने जनाएको हो।
यस सम्वन्धमा विभागले भने अध्ययन गरिरहेको र कानूनअनुसार ‘रुट पर्मिट’ दिने जनाएको छ। विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार साझाले प्रस्ताव गरेको रुट पर्मिटका लागि कानूनले कतै अवरोध नगरेकाले उसले प्रक्रियाअनुसार पाउने बताए।
‘रुट इजाजतसम्वन्धी मापदण्ड पुगेपछि सम्वन्धित यातायात कार्यालयले अनुमति दिन्छ’ उनले भने ‘त्यसका लागि त्यहाँका अरु व्यवसायीलाई सोध्नुपर्ने जरुरत छैन।’प्रतिस्पर्धात्मक रुपमा सेवा विस्तार गर्न खोज्नेलाई कसैले रोकतोक गर्न खोजे त्यो कानूनविपरित हुने डा. पाण्डेले स्पष्ट पारे। यातायात क्षेत्रमा सिण्डिकेट लाद्न खोजेमा त्यो कानूनविरुद्ध हुने र सजायको भागिदार हुने भन्दै विभागले साझालाई ‘रुट पर्मिट’ दिने तयारी गरेको छ।
अर्कोतर्फ साझाका बसहरु ठूला भएकाले तीनकुने–सुर्यविनायक सडकखण्ड उपयुक्त रहेको विभागको भनाई छ। यदी भक्तपुरमा पनि रुट पर्मिट र संचालन गर्न पाएमा तीनै जिल्लालालाई साझा यातायातले जोड्न सक्छ।
हाल ललितपुरको लगनखेल, जाउलाखेल, कुपण्डोल हुँदै सुन्धारा, चक्रपथ, बसपार्कसम्म र बसपार्कदेखि सोही रुट हुँदै लगनखेलसम्म बस संचालन भइरहेको छ।
साझाका कामु कार्यकारी अधिकृत पाण्डेका अनुसार उपत्यकाका तीनै जिल्लालाई सहज रुपमा यातायातले जोड्नका लागि पनि साझाले प्रयास थालेको हो। तर भक्तपुरमा रुट पर्मिट दिए पनि साझाका बसलाई छिर्न नदिने भन्दै त्यहाँका व्यवसायी आक्रोशित भएका छन्।
सो रुटमा साझालाई पर्मिट नदिनका लागि दवाव दिइरहेका छन्। ‘हालै भक्तपुरका बस व्यवसायीहरुको बैठक बसेर कुनै पनि हालतमा साझालाई संचालन गर्न नदिइने निर्णय भएको छ’ एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने।
भक्तपुरका मात्रै होइन, छाता संगठन राष्ट्रिय यातायात व्यवसायी महासंघ नै साझालाई सो रुटमा संचालन गर्न नदिने पक्षमा जुटेको छ। महासंघका महासचिव सरोज सिटौलाले निजी व्यवसायीहरुले गरेको अरबौं लगानीलाई जोखिममा पार्नेगरी सरकारले कदम चाल्न नहुने बताउँछन्। ‘राजधानीको सजिलो बाटोजति साझाले हडप्ने, निजीले सधैं भीरपाखामा मात्रै संचालन गर्नुपर्ने हो भने सरकारले हाम्रो सहयोग नमागे हुन्छ’ उनले भने।
व्यवसायीलाई लात हान्ने काम सरकारले गर्न नहुने भन्दै उनले निजी क्षेत्रका यातायातहरु एकआपसमा प्रतिस्पर्धामा होमिइसकेको दावी गरे। उनले थपे ‘लामो दुरीमा सुविधासम्पन्न बसहरु चलिरहेका छन्, उच्च प्रतिस्पर्धा छ, लोकल सवारीमा पनि नयाँ नयाँ थपिने क्रम जारी छ, त्यसकारण प्रतिस्पर्धाका नाममा निजी क्षेत्रलाई मार्ने काम बन्द गर्नुपर्छ।’
शहरी क्षेत्रमा साना सवारीलाई परिमार्जन गरेर आफूहरुले नै ठूला बसहरु चलाउन तयार रहेको जानकारी दिँदै उनले आफूहरुको अरबौं लगानीको सुरक्षा गर्ने जिम्मा सरकारको पनि भएको उल्लेख गरे।



